Butwal Today

७१औँ रक्तदान कार्यक्रममा ६३ जनाले गरे रक्तदान

३ आश्विन २०८३, शनिबार
अ+
अ-

बाँके । गोपाल निना फाउन्डेसन नेपाल र जनमत अर्धसाप्ताहिकको संयुक्त आयोजनामा सम्पन्न ७१औँ रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् ।

मानव सेवाको भावना अभिवृद्धि गर्दै रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नियमित रूपमा आयोजना हुँदै आएको रक्तदान कार्यक्रमअन्तर्गत यसपटक ६३ जना रक्तदाताले रक्तदान गरेका हुन् ।

कार्यक्रममा रक्तदानसँगै समाज तथा मानव सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएका ६ जना मानवसेवी व्यक्तित्वलाई सम्मानसमेत गरिएको छ । सामाजिक तथा मानवीय सेवाप्रति उनीहरूले पुर्‍याउँदै आएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी रक्तदाताहरूले रक्तदान मानव सेवाको महत्वपूर्ण माध्यम भएको बताएका थिए । आफूले दिएको एक थोपा रगतले दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगका कारण रगत आवश्यक पर्ने व्यक्तिको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्वस्थ व्यक्तिले नियमित रक्तदान गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए ।

आयोजक संस्थाले रक्तदान गर्ने सम्पूर्ण ६३ जना रक्तदाताप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ । रक्तदान केवल सहयोगको विषय नभई मानवताको महान् सेवा भएको भन्दै आयोजकले रक्तदान अभियानमा थप नागरिकलाई जोडिनसमेत आह्वान गरेको छ ।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सहयोगी संस्था, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा शुभेच्छुकप्रति पनि आयोजकले धन्यवाद व्यक्त गरेको छ ।

नियमित रक्तदान कार्यक्रमले समाजमा रक्तदानप्रतिको सकारात्मक भावना विकास गर्नुका साथै आवश्यक परेको समयमा रगत उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

रक्तदानजस्तो मानवीय कार्यलाई निरन्तरता दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने आयोजक संस्थाहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?