© 2026
अर्घाखाँची । जिल्लाका नागरिकलाई यातायातसम्बन्धी सेवा लिन अन्य जिल्लामा पुग्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यले अर्घाखाँचीबाटै यातायात व्यवस्था कार्यालयले प्रदान गर्ने सेवा औपचारिक रूपमा शुभारम्भ भएको छ । पहिलो चरणमा अस्थायी बाटो इजाजतपत्र अर्थात् पटके सेवा सुरु गरिएको हो । बिहीबार आयोजित सेवा शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पहिलो दुई जना सेवाग्राहीलाई अस्थायी बाटो इजाजतपत्र प्रदान गर्दै सेवा प्रवाहको सुरुवात गरिएको हो । पहिलो सेवाग्राहीलाई इजाजतपत्र हस्तान्तरण गरिएसँगै अर्घाखाँचीबाट यातायातसम्बन्धी सरकारी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
यसअघि पटके इजाजतपत्रलगायत यातायातसम्बन्धी कामका लागि जिल्लाबाहिर जानुपर्ने अवस्था हुँदा सेवाग्राहीले अतिरिक्त समय, यातायात खर्च तथा अन्य झन्झट व्यहोर्नुपर्ने अवस्था थियो। जिल्लामै सेवा सुरु भएपछि सवारीधनी तथा यातायात व्यवसायीलाई आफ्नो जिल्लाबाटै आवश्यक प्रक्रिया पूरा गर्न सहज हुने अपेक्षा गरिएको छ । हाल सुरु गरिएको पटके सेवा लुम्बिनी प्रदेशभित्र सञ्चालन हुने सवारी साधनका लागि मात्र उपलब्ध हुनेछ । यससँगै प्रदेशका विभिन्न जिल्लामा सवारी साधन सञ्चालन गर्दा आवश्यक पर्ने अस्थायी बाटो इजाजतपत्र अर्घाखाँचीबाटै लिन सकिने भएको छ । प्रदेश सरकारले दिएको कार्यादेशअनुसार सेवा सञ्चालनको जिम्मेवारी पाएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले पटके सेवा सुरु गरेको हो। कार्यालय प्रमुख दुर्गा न्यौपानेले प्रदेश सरकारबाट प्राप्त कार्यादेशअनुसार आम नागरिकलाई सहज र छरितो ढङ्गले सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले पहिलो चरणमा पटके सेवा मात्रै सुरु गरिएको जानकारी दिँदै यातायात व्यवस्था कार्यालयबाट प्रदान हुने अन्य सेवाहरू पनि क्रमशः विस्तार गर्दै लगिने बताउनुभयो। “अहिले पहिलो चरणमा पटके सेवा सुरु गरेका छौँ। यातायात कार्यालयले दिने अन्य सेवाहरू पनि क्रमशः थप गर्दै जानेछौँ। प्रदेश सरकारले दिएको कार्यादेशबमोजिम आम नागरिकलाई सहज र छरितो रूपमा सेवा दिने हाम्रो प्रतिबद्धता छ,” उनको भनाइ छ ।अर्घाखाँचीमा यातायात व्यवस्था कार्यालयको सेवा सुरु हुनु जिल्लाका नागरिकले लामो समयदेखि भोग्दै आएको यातायातसम्बन्धी सेवा लिन बाहिरी जिल्ला धाउनुपर्ने समस्यालाई कम गर्ने दिशामा महत्वपूर्ण सुरुवातका रूपमा लिइएको छ ।
विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रबाट यातायातसम्बन्धी सेवा लिन सदरमुकाम वा जिल्लाबाहिर जानुपर्ने नागरिकका लागि सेवा विस्तारले थप सहजता ल्याउने अपेक्षा गरिएको छ। पहिलो चरणमा पटके सेवाबाट सुरुवात भए पनि आगामी दिनमा प्रदेश सरकारबाट प्राप्त हुने कार्यादेश तथा निर्णयअनुसार अन्य यातायातसम्बन्धी सेवासमेत जिल्लाबाटै उपलब्ध गराउँदै जाने कार्यालयले जनाएको छ ।