Butwal Today

राप्रपा अर्घाखाँचीको अध्यक्षमा नारायण खनाल निर्बाचित

३१ भाद्र २०८३, बुधबार
अ+
अ-

अर्घाखाँची । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अर्घाखाँचीको अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशनले नारायण प्रसाद खनाललाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । खनालको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको र अन्य पदाधिकारी तथा सदस्यहरूको नाम पछि सार्वजनिक गरिने राप्रपाका पूर्वप्रवक्ता विनोद आचार्यले जानकारी दिए ।

अध्यक्षमा सर्वसम्मत चयन भएका खनालले आगामी दिनमा पार्टीको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जिल्लाका समसामयिक विषयमा पार्टीको भूमिका प्रभावकारी बनाउने बताएका छन् ।
अधिवेशनको उद्घाटनपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै राप्रपाका केन्द्रीय उपाध्यक्ष तथा पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले देशमा संकट परेको बेला सबै एक हुन जरुरी रहेको बताए । उनले राष्ट्रिय हितका विषयमा एकता र सहकार्यको आवश्यकता औँल्याउँदै मुलुकको वर्तमान अवस्थालाई सम्बोधन गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे । प्रधानले देशको राजनीतिक, सामाजिक तथा आर्थिक अवस्थाबारे चर्चा गर्दै राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

अधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। जिल्ला नेतृत्व चयनसँगै राप्रपा अर्घाखाँचीमा आगामी कार्यदिशा, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तारका विषयमा समेत छलफल भएको र अधिवेशनले जिल्ला संगठनलाई नयाँ नेतृत्व प्रदान गर्नुका साथै आगामी राजनीतिक गतिविधिका लागि आधार तयार गरेको राप्रपा अर्घाखाँचीका नेताहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?