© 2026
नवलपरासी। निर्माण सम्पन्नोन्मुख नारायणघाट–बुटवल सडक आयोजनाअन्तर्गत पश्चिम खण्डमा पर्ने बस्ती तथा बजार क्षेत्रमा सडकको मध्य भागमा स्मार्ट सडक बत्ती जडानका निम्ति गर्न पहल सुरु गरिएको छ । नारायणघाट–बुटवल सडक आयोजना पश्चिम खण्ड र बर्दघाट, सुनवल, देवदह, बुटवल उपमहानगरपालिका तथा सरावल गाउँपालिकाका प्रमुखहरु बिच आज बर्दघाट नगरपालिकामा भएको छलफलमा सडक बत्ती निर्माण तथा सञ्चालनका स्थानीय तहहरुको सहकार्यमा नेपाल विद्युत प्राधिकरण सग आवश्यक सहयोग माग्ने निर्णय भएको हो ।
सडक बत्ती निर्माण कार्यलाई प्रभावकारी र दिगो रूपमा सञ्चालन गर्न सम्बन्धित स्थानीय तहले आफ्नो क्षेत्रको कुल लागत अनुमानको न्यूनतम २० प्रतिशत साझेदारी व्यहोर्ने र निर्माण सम्पन्न भएपछि समेत सडक बत्ती सञ्चालन, नियमित मर्मत–सम्भार तथा विद्युत् महसुलसम्बन्धी दायित्व सम्बन्धित स्थानीय तहले व्यहोर्ने गरी कार्यपालिकाको बैठकबाट आवश्यक निर्णय गरी आयोजनालाई पठाउने प्रस्ताव अघि सारिएको छ ।
बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले नगर क्षेत्रको मुख्य सडकमा स्मार्ट सडक बत्ती जडान हुनु सडक सुरक्षा र सहरी सौन्दर्यका दृष्टिले महत्वपूर्ण हुने बताए । “बर्दघाट हुँदै जाने पूर्व–पश्चिम राजमार्ग हाम्रो नगरको मुख्य सडक हो । रातिको समयमा पर्याप्त प्रकाशको व्यवस्था हुँदा यात्रु तथा स्थानीय नागरिकलाई सहज हुनुका साथै सडक सुरक्षामा समेत सकारात्मक प्रभाव पर्छ,” उहाले भने“आयोजनाले प्रस्ताव गरेको साझेदारी र दीर्घकालीन सञ्चालनको विषयमा नगरपालिकाले आवश्यक छलफल गरेर निर्णय गर्नेछ ।”
सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालले सडक बत्तीलाई केवल पूर्वाधार निर्माणका रूपमा नभई त्यसको नियमित सञ्चालन र व्यवस्थापनलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताउदै उज्यालो सडक निर्माणको कामलाई शिघ्र रुलमा अघि बढाईनु पर्नेमा जोड दिईन ।बुटवल–नारायणगढ सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख पशुपति ज्ञवालीले बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, सुनवल नगरपालिका, सरावल गाउँपालिका र बर्दघाट नगरपालिकालाई उक्त निर्णयका लागि पत्राचार गरिनुका साथै आवश्यक समन्वयका लागि नेपाल विद्युत प्राधिकरणलाई समेत पत्राचार गरिएको जानकारी दिए ।
ज्ञवालीका अनुसार निर्माणपछि सडक बत्तीको नियमित सञ्चालन, मर्मतसम्भार र विद्युत् महसुलको जिम्मेवारी स्थानीय तहले लिनुपर्ने भएकाले आयोजनाले सम्बन्धित पालिकासँग साझेदारीका लागि आग्रह गरेको हो । “स्थानीय तहको सहभागिता र स्वामित्व भएमा सडक बत्तीको दीर्घकालीन सञ्चालन तथा व्यवस्थापन प्रभावकारी हुने अपेक्षा गरेका छौँ,” ज्ञवालीले भने ।
नारायणघाट–बुटवल सडकखण्डमा स्मार्ट सडक बत्ती जडान भएपछि बस्ती तथा बजार क्षेत्रमा रातिको समयमा सडकको सौन्दर्यता बढ्नुका साथै सडक बत्ती व्यवस्थापनले सम्भावित दुर्घटना न्यूनीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।छलफलमा राजमार्ग सग जोडिएका सबै पालिकाका प्रमुख हरुको सहभागीता रहेको थियो ।