Butwal Today

अमेरिकाले अन्तरिक्षमा हतियार तैनाथ

३० भाद्र २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । अमेरिकाले पृथ्वीको कक्षमा हतियार तैनाथ गरेको पहिलो पटक सार्वजनिक रूपमा स्वीकार गरेको छ।अमेरिकी वायुसेना सचिव ट्रोय माइंकले सोमबार मेरिल्यान्डमा आयोजित एक सम्मेलनमा अमेरिकासँग शत्रुको सम्भावित आक्रमणबाट रक्षा गर्न सक्षम हतियार अन्तरिक्षमा रहेको बताएका हुन्। तर उनले उक्त हतियारको प्रकृति, क्षमता र कहिले अन्तरिक्षमा तैनाथ गरिएको हो भन्नेबारे खुलाएनन्। वरिष्ठ अमेरिकी सैन्य अधिकारीहरूले यसअघि रुस र चीनले भविष्यमा अमेरिकी स्याटलाइटमाथि आक्रमण गर्न सक्ने भन्दै अन्तरिक्षमा हतियार तैनाथ गर्ने योजना रहेको बताएका थिए।

राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएपछि अमेरिकाले ‘गोल्डेन डोम’ नामक प्रतिरक्षा प्रणाली विकास गर्ने तयारी गरिरहेको छ। ट्रम्प प्रशासनले अन्तरिक्षमा तैनाथ हतियारलाई उक्त प्रणालीको महत्वपूर्ण हिस्सा भनेको छ।सन् १९६७ को अन्तर्राष्ट्रिय सन्धिले अन्तरिक्षमा विनाशकारी हतियार तैनाथ गर्न प्रतिबन्ध लगाएको छ। त्यसैले अमेरिका, रुस र चीनले सन्धिले प्रतिबन्ध नलगाएका अन्य प्रकारका हतियार विकास गर्दै आएका छन्। गत वर्ष ट्रम्पले अमेरिकी स्पेस फोर्सलाई आक्रमण गर्ने अधिकार दिनेगरी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

कतिपय सैन्य विश्लेषकहरूले अमेरिकाले यसअघि नै अन्तरिक्षमा हतियार तैनाथ गरिसकेको दाबी गर्दै आएका थिए। अमेरिकाले यसपटक खुलेर स्वीकार गरेपछि शक्ति राष्ट्रहरूबीच अन्तरिक्षमा हतियार तैनाथ गर्ने होड बढ्ने चिन्ता व्यक्त गरिएको छ। घटना सार्वजनिक भएलगत्तै चीनले अमेरिकालाई अन्तरिक्षमा युद्धको तयारी रोक्न आग्रह गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कुओ जियाकुनले अन्तरिक्षमा हतियारको प्रतिस्पर्धा रोक्न आह्वान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?