© 2026
बुटवल । लामो समयदेखि निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको रुपन्देहीको सालझण्डी–पिपलडाँडास्थित रिफ्रेस सेन्टरलाई चाँडै सञ्चालनमा ल्याउने गरी लुम्बिनी प्रदेश सरकारले प्रक्रिया अघि बढाएको छ। लुम्बिनी प्रदेश सरकारका शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री सन्तोषकुमार पाण्डेयले मंगलबार रिफ्रेस सेन्टरको स्थलगत अनुगमन गर्दै आवश्यक प्रक्रिया पूरा गरी तत्काल सञ्चालनमा ल्याउने तयारी गर्न निर्देशन दिएका छन्।
मन्त्री पाण्डेयले खानेपानी तथा सरसफाइ कार्यालय, रुपन्देहीका कार्यालय प्रमुख तथा प्राविधिक टोलीसँग सेन्टरको निर्माण अवस्था, बाँकी काम तथा सञ्चालनका लागि आवश्यक पूर्वाधारबारे जानकारी लिएका थिए। निर्माण सम्पन्न भइसकेको संरचना लामो समयसम्म प्रयोगविहीन हुँदा नागरिकले त्यसको लाभ लिन नसकेको भन्दै मन्त्री पाण्डेयले आवश्यक प्राविधिक तथा प्रशासनिक प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिए।
उनले सेन्टर सञ्चालनका लागि आवश्यक तयारी पूरा गरी सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउन कार्यालय प्रमुखलाई आग्रह गरे। जनताका लागि निर्माण गरिएका पूर्वाधार लामो समयसम्म अलपत्र राख्न नहुने भन्दै उनले निर्माण सम्पन्न संरचनाबाट नागरिकले तत्काल सेवा पाउने गरी काम गर्न निर्देशन दिए। लुम्बिनी प्रदेश सरकारले सर्वसाधारणको यात्रा सहज, सुरक्षित र आरामदायी बनाउने उद्देश्यले नवलपरासी, रुपन्देही र कपिलवस्तुलगायत जिल्लामा रिफ्रेस सेन्टर निर्माण गरेको छ। तर, निर्माण सम्पन्न भएका कतिपय सेन्टर सञ्चालनमा आउन नसक्दा राज्यको लगानीअनुसार नागरिकले प्रतिफल पाउन सकेका छैनन्।
प्रदेश सरकारले निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा अधुरा–अपुरा आयोजनाको अवस्था पहिचान गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। सोही क्रममा रिफ्रेस सेन्टरको स्थलगत अनुगमन गरी सञ्चालनमा ल्याउने तयारी थालिएको प्रदेश सरकारले जनाएको छ।