Butwal Today

भलिबल संघ सल्यानको नया कार्यसमिति , अध्यक्षमा चलाउने निर्वाचित

२८ भाद्र २०८३, आइतबार
अ+
अ-

सल्यान। नेपाल भलिबल संघ सल्यानले आगामी कार्यकालका लागि कैलाश चलाउनेको नेतृत्वमा नयाँ नेतृत्व पाएको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सम्पन्न संघको तेस्रो अधिवेशनले चलाउनेको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट गठित नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र चन्द, सचिवमा धिरेन्द्र परियार र कोषाध्यक्षमा सुरक्षा परियार चयन भएका छन् । यसैगरी कार्यसमिति सदस्यहरूमा मनबहादुर पुन मगर, पुष्पा पुन, सन्दिप विक, दिपक पुन र खिम केसी चयन भएका छन् । अधिवेशनले जिल्लामा भलिबलको गतिविधिलाई थप व्यवस्थित बनाउने र प्रतिभा पहिचान गर्ने जिम्मेवारी नयाँ नेतृत्वलाई सुम्पेको छ ।

अधिवेशनमा सहभागी खेलकुद क्षेत्रका अगुवा तथा प्रतिनिधिहरूले नयाँ कार्यसमितिलाई बधाई दिँदै सल्यानमा भलिबलको पहुँच र विकासका लागि स्पष्ट मार्गचित्र कोर्न सुझाव दिएका छन् । कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रीय सचिव सोमबहादुर श्रेष्ठ, निवर्तमान जिल्ला अध्यक्ष खेमराज केसी, त्रिवेणी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष कर्णदेव डाँगी, क्रिकेट संघ सल्यानका अध्यक्ष सबिन हमाल, राष्ट्रिय रेफ्री खगेन्द्र माझी, जिल्ला खेलकुद विकास समिति सल्यानका सदस्यसचिव तुफान वली, भलिबल संघ सुर्खेतका अध्यक्ष रविन्द्र शाही, कोषाध्यक्ष गणेश शाही र एथलेटिक्स संघ सल्यानका अध्यक्ष वीरबहादुर भँडेल लगायतको उपस्थिति थियो । वक्ताहरूले भलिबललाई केवल मौसमी प्रतियोगिता आयोजनामा सीमित नराखी विद्यालय तहदेखि नै प्रतिभा पहिचान गरी प्रदेश र राष्ट्रियस्तरसम्म पुर्‍याउन स्थानीय तह तथा खेल सम्बद्ध निकायहरूसँग दरिलो समन्वय गर्नुपर्नेमा जोड दिएका थिए ।

भलिबलको संस्थागत विकास, स्थानीयस्तरमा प्रतियोगिताको विस्तार र जगैदेखि नयाँ खेलाडी उत्पादन गर्ने मुख्य एजेन्डा सहित नयाँ समितिले जिम्मेवार तरिकाले काम गर्ने जनाएको छ । नवनिर्वाचित अध्यक्ष कैलाश चलाउनेले भलिबलको विकासका लागि सबै पक्षसँग सहकार्य गर्दै जिल्लाका खेलाडीलाई नयाँ अवसर सिर्जना गर्ने र नियमित खेल गतिविधिलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे ।

सल्यानमा विद्यालय तथा स्थानीयस्तरमा भलिबल प्रतियोगिताको लोकप्रियता बढ्दै गए पनि पर्याप्त प्रशिक्षण, पूर्वाधार र नियमित प्रतियोगिताको अभावमा प्रतिभाहरूले अपेक्षित अवसर पाउन सकेका छैनन् । यस्तो अवस्थामा जिल्लाको भलिबल गतिविधिलाई एकीकृत गर्दै खेलाडी उत्पादनदेखि प्रतियोगिता सम्मको वातावरण निर्माण गर्नु नयाँ कार्यसमितिका लागि मुख्य जिम्मेवारी र चुनौतीका रूपमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?