© 2026
काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले पार्टीभित्र एकताको सन्देश दिँदै १५औँ महाधिवेशनमा सहभागी हुन चाहने सबै पक्षलाई स्वागत गर्ने निर्णय गरेको छ। बैठकले महाधिवेशनमा सहभागी हुन वा आयोजकका रूपमा सामेल हुन चाहने सबैलाई स्वागत गर्ने निर्णय गरेको हो। विशेषगरी देउवा पक्षबाट आउने केन्द्रीय सदस्यहरूलाई उनीहरूको केन्द्रीय सदस्यकै हैसियतमा स्वागत गरी जिम्मेवारी दिने निर्णय गरिएको छ।
बैठकले १५औँ महाधिवेशनको औपचारिक उद्घाटन असोज १६ गते दिउँसो १ बजे काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा भव्य रूपमा गर्ने निर्णयसमेत गरेको छ। यसैगरी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा अधिवेशनसम्बन्धी देखिएका समस्या समाधान गर्न सम्बन्धित जिल्ला सभापति तथा पदाधिकारी, केन्द्रीय निर्वाचन समिति र पार्टी नेतृत्वबीच छलफल गरी निकास निकाल्ने निर्णय भएको छ।
कार्यसम्पादन समितिको निर्णयले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्दै सबै पक्षलाई समेटेर एकताबद्ध रूपमा १५औँ महाधिवेशन सम्पन्न गर्ने प्रयासका रूपमा अर्थ्याइएको छ।