© 2026
चितवन । चितवनको भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय सवारीसाधनमा आगलागी हुँदा चालकको मृत्यु भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद मञ्जु भुसालले सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भुसालले विद्युतीय सवारीसाधनको प्रयोगमा सहजता ल्याउने सरकारको प्रयास सकारात्मक भए पनि यसको प्राविधिक सुरक्षा परीक्षण र निगरानीलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताइन्।उनले दुर्घटनामा ज्यान गुमाएका चालकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिन्। साथै, घटनाको सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायसँग आग्रह गरिन्।
सांसद भुसालले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन विद्युतीय सवारीसाधनको सुरक्षा मापदण्ड, नियमित प्राविधिक परीक्षण, आपत्कालीन उद्धार व्यवस्था तथा प्रभावकारी व्यवस्थापनमा सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिइन्। उनले विद्युतीय सवारीसाधनको विस्तारसँगै त्यसको प्राविधिक सुरक्षालाई पनि प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेकी छन्।