Butwal Today

रोटरी क्लब बुटवल चौतारीको आठौँ चार्टर्ड डे

२६ भाद्र २०८३, शुक्रबार
अ+
अ-

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो आठौँ चार्टर्ड डे मनाउँदै प्रधानमन्त्री राहत कोषमा एक लाख ६७ हजार ४२४ रुपैयाँ सहयोग गरेको छ ।

रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानमार्फत क्लबले विपद् तथा कठिन परिस्थितिमा रहेका नागरिकलाई राहत पु¥याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गरेको हो ।

बुटवलस्थित होटल टुलिपमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष बसुदेव भुसालले सामाजिक उत्तरदायित्वअन्तर्गत राहत कोषमा सहयोग गरिएको बताए । उनले क्लबले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, मानवीय सेवा, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा सेवा गतिविधिलाई निरन्तरता दिने बताए ।

सन् २०१९ सेप्टेम्बर ९ मा ४० जना चार्टर सदस्यबाट स्थापना भएको क्लबले आठ वर्षको अवधिमा विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्लबले शिक्षा र स्वास्थ्यका साथै विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न परियोजना सञ्चालन गरेको जनाएको छ ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष डा। विष्णु घिमिरेले आठ वर्षको यात्रामा क्लबले सेवा, सहकार्य र मानवीयतालाई प्राथमिकतामा राख्दै आएको बताए । उनले क्लबको अक्षयकोषलाई थप मजबुत बनाउने, एम्बुलेन्स सेवा विस्तार गर्ने तथा छात्रवृत्तिलगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने योजना रहेको बताए ।

“अक्षयकोषले भरोसा बढाओस्, एम्बुलेन्स सेवाले जीवन बचाओस्, छात्रवृत्तिले सपना सजाओस् र हाम्रो सेवाले समाज मुस्कुराओस् भन्ने हाम्रो चाहना हो,” उनले भने ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष नुमेन्द्र पौडेलसहित पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो । सहभागीहरूले क्लबले सञ्चालन गरेका सेवा परियोजनाको समीक्षा गर्दै आगामी दिनमा सामाजिक सेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

चार्टर्ड डे कार्यक्रममा क्लबको विगतको गतिविधि तथा आगामी कार्य योजनाबारे समेत छलफल गरिएको थियो । क्लबले समुदायको आवश्यकता पहिचान गरी सेवा तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?