Butwal Today

बिपतका समयमा सही सूचना दिनुपर्नेमा सञ्चारिकाको जोड

२५ भाद्र २०८३, बिहीबार
अ+
अ-

दाङ । विपद्का बेला सही सूचना प्रवाहसँगै प्रभावित नागरिकको अधिकार र सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। सञ्चारिका समूह दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको ‘विपद्मा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, सूचना प्रवाह, महिला तथा बालबालिकाको सुरक्षा र राहत तथा पुनःस्थापनाका विषयमा छलफल गरिएको हो।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले विपद्का बेला सञ्चारमाध्यमले सही, विश्वसनीय र समयमै सूचना प्रवाह गर्नुपर्ने बताएका थिए। उनले विपद्का घटनाको समाचार सम्प्रेषण गर्दा संवेदनशीलता अपनाउनुपर्ने र प्रभावित नागरिकका समस्या तथा आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विमल रिजालले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणमा सञ्चार क्षेत्र र निजी क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले विपद्का बेला निजी क्षेत्रले निर्वाह गर्न सक्ने भूमिका र आगामी कार्ययोजनाबारे जानकारी दिएका थिए। मानव अधिकारकर्मी एवं पत्रकार सुशील बस्नेतले विपद्बाट प्रभावित नागरिकको जीवन, सुरक्षा, सम्मान र आधारभूत अधिकार सुनिश्चित गर्नुपर्ने बताए। विपद् प्रभावित नागरिकको संरक्षणका लागि मानव अधिकारकर्मीले निरन्तर पहल गर्नुपर्ने उनको भनाइ थियो।

सञ्चारिका समूह दाङकी सल्लाहकार सुलोचना गौतमले विपद् व्यवस्थापनमा सञ्चार क्षेत्रको भूमिका र सञ्चारकर्मीले समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने विषयबारे धारणा राखिन। महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी उपाध्यक्ष पदमा चौधरीले विपद्पछि महिला तथा बालबालिकामाथि बढ्न सक्ने लैङ्गिक हिंसा र अन्य जोखिम न्यूनीकरणमा विशेष ध्यान दिनुपर्ने बताइन। उनले पछिल्ला विपद्का घटनामा महिला अधिकारकर्मीले गरेका पहल र अनुभवसमेत सुनाइन। पशुपति सहकारी संस्थाकी अध्यक्ष यमुना कँडेल शाहले परम्परा तथा संस्कृति संरक्षणसँगै महिला उद्यमशीलतालाई अघि बढाउनुपर्ने बताइन। विपद्का बेला महिला उद्यमी, स्थानीय उत्पादन तथा सांस्कृतिक पहिचान संरक्षणमा उद्यमशीलताको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका पूर्वउपाध्यक्ष बसुन्धरा गौतम, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अञ्जना चौधरी, जिल्ला उपाध्यक्ष यमकला भुषाल, चलचित्र पत्रकार संघ दाङका अध्यक्ष निरला अर्याल, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, सामाजिक रूपान्तरण मञ्चका अध्यक्ष सुशीला आचार्य र थारु पत्रकार संघ दाङका अध्यक्ष नीता चौधरीलगायतले विपद् व्यवस्थापनका विषयमा आ(आफ्ना धारणा राखेका थिए। सञ्चारिका समूह दाङकी अध्यक्ष रञ्जिता अधिकारीले सामाजिक संघसस्थाको सहयोगले बिपतमा काम गर्न सहज हुने बताइन् । सामाजिक संघसस्थाका प्रतिनिधि र सञ्चारकर्मीको सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?