© 2026
लमही । लुम्बिनी प्रदेश सरकारले यातायात सेवा विस्तार गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालयबाट समेत यातायातसम्बन्धी सेवा प्रवाह गर्ने निर्णय कार्यान्वयनमा ल्याउने भएको छ ।
यातायात सेवा सञ्चालन नभएका जिल्लामा घरेलु कार्यालयलाई यातायात सेवाको शाखाका रूपमा प्रयोग गरी सेवा दिने निर्णय कार्यान्वयनमा आउन लागेको हो ।
आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले बिहीबार राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरेको आर्थिक वर्ष २०८२ र ०८३ को वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात सेवा नपुगेका जिल्लामा घरेलु कार्यालयमार्फत सेवा सञ्चालन गर्ने प्रदेश सरकारको निर्णय छिट्टै कार्यान्वयनमा आउने जानकारी दिए ।
सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउन यातायातसम्बन्धी अधिकार विस्तार गर्न लागिएको उनले बताए । उनले यातायात सेवा सञ्चालन भइरहेका स्थानमा हालकै व्यवस्था यथावत् रहने र सेवा सञ्चालन नभएका जिल्लामा घरेलु कार्यालयलाई यातायात सेवाको शाखाका रूपमा प्रयोग गरी सेवा प्रवाह गरिने स्पष्ट पारे । यसका लागि आवश्यक तयारीका साथ अघि बढ्न सम्बन्धित निकायलाई उनले निर्देशन दिए ।
मुख्यमन्त्री आचार्यले यातायात क्षेत्रको काममा ढिलाइ नगर्न र कर्मचारीलाई जिम्मेवार तथा पारदर्शी भएर काम गर्न निर्देशन दिए । सेवाग्राहीलाई अनावश्यक रूपमा कुराउने प्रवृत्ति अन्त्य गर्न आग्रह गर्दै उनले एक घण्टाभित्र सम्पन्न गर्न सकिने काम एक घण्टाभित्रै गरिदिन कर्मचारीलाई निर्देशन दिए ।
सरकारले आगामी असोजदेखि १२ जिल्लाबाट सवारी पटके सेवा सञ्चालन गर्ने तयारी गरेको उनले जानकारी दिए । बाँकी ६ जिल्लामा सवारी चालक अनुमति पत्र नवीकरणलगायतका अधिकार पनि क्रमशः प्रत्यायोजन गर्दै जाने सरकारको तयारी रहेको उनले बताए ।
यातायात क्षेत्र प्रदेश सरकारको एकल अधिकारअन्तर्गत राजस्व सङ्कलन हुने महत्त्वपूर्ण क्षेत्र भएकाले यसमा पारदर्शिता र जबाफदेहिता कायम गर्नुपर्ने मुख्यमन्त्री आचार्यको भनाइ थियो । यातायातसम्बन्धी कामकारबाहीमा कसैले प्रश्न उठाउने अवस्था आउन नदिन कर्मचारीले अनुशासनमा रहेर कानुनको पूर्ण पालना गर्नुपर्ने उनले बताए ।