© 2026
काठमाडौँ ।
परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले शिष्टाचार भेट गरेकी छन् ।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा राजदूत डेल्पिटियाले हालैको विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि श्रीलङ्का सरकारको तर्फबाट १० लाख अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गरिन ।
सो अवसरमा राजदूत डेल्पिटियाले बाढीका कारण भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति श्रीलङ्का सरकार र जनताको तर्फबाट दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गरिन ।
उनले बाढीप्रभावित क्षेत्रमा जारी मानवीय सहायता तथा राहत प्रयासमा सहयोग पुर्याउने उद्देश्यले श्रीलङ्का सरकारबाट प्रदान गरिएको आर्थिक सहयोग परराष्ट्रमन्त्री खनाललाई हस्तान्तरण गरिन ।
उक्त अवसरमा परराष्ट्रमन्त्री खनालले विपद्को यस कठिन समयमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गर्नुका साथै राहत तथा मानवीय प्रयासका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति गहिरो कृतज्ञता व्यक्त गरे ।
मन्त्री खनालले श्रीलङ्काको सहयोगले नेपाल र श्रीलङ्काबिच रहेको गहिरो मित्रता, पारस्परिक सहयोग र सहकार्यलाई प्रतिबिम्बित गरेको बताए । साथै, विपद्को समयमा श्रीलङ्काले देखाएको सद्भाव र सहयोगका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे ।