© 2026
दोहा, कतार । चीनको तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि कतारमा रहेका नेपाली संघ–संस्थाहरू राहत तथा उद्धारमा जुटेका छन् ।
यसैक्रममा क्षत्री समाज नेपाल, कतार शाखाले बाढीपीडितको उद्धार तथा राहतका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । समाजले उक्त रकम गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारलाई हस्तान्तरण गरेको हो ।
सहयोग रकम ग्रहण गर्दै एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले सहयोगका लागि क्षत्री समाजलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने बताए ।
क्षत्री समाज नेपाल कतारका अध्यक्ष गुणराज कटुवालले विपत्तिको समयमा नेपालीहरू एकजुट भएर पीडितको साथमा उभिनुपर्ने बताए । प्रवासमा रहेका नेपालीहरूको एकता, सहकार्य र मानवीय भावना नै विपत्तिका बेला ठूलो शक्ति हुने उनको भनाइ छ ।
क्षत्री समाजले आगामी दिनमा पनि आवश्यकता अनुसार सामाजिक तथा मानवीय अभियानमा सक्रिय रहने प्रतिबद्धता जनाएको छ ।