Butwal Today

कालिकाको राहत कोषमा ३ लाख ८० हजार सहयोग

२४ भाद्र २०८३, बुधबार
अ+
अ-

कपिलवस्तु । कपिलवस्तुको कालिका स्वावलम्बन सामाजिक केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ ।

केन्द्रका अध्यक्ष मन्दिप सिंह, कार्यसमिति सदस्य सन्जय मल्ल, कार्यकारी निर्देशक रामेन्द्र सिंह रावललगायतको टोलीले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा पुगेर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई बैङ्क दाखिला भौचर हस्तान्तरण गरेको हो ।

एम्पिलफाई चेन्जको सहयोगमा सञ्चालित परियोजनासहित विभिन्न परियोजनामा आबद्ध कर्मचारी तथा कार्यसमिति सदस्यबाट सङ्कलित १ लाख ५५ हजार रुपैयाँ राहत कोषमा जम्मा गरिएको हो । भौचर हस्तान्तरणका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेको समेत उपस्थिति थियो ।

त्यसैगरी, फेरमेड फाउण्डेशनको सहयोगमा सञ्चालित प्रेरणा परियोजनाअन्तर्गतको २ लाख २५ हजार रुपैयाँ फेरमेडमार्फत केन्द्रबाटै राहत कोषमा जम्मा गरिएको कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलले जानकारी दिए ।

जिल्ला र केन्द्रबाट गरी संस्थाले कुल ३ लाख ८० हजार रुपैयाँ राहत कोषमा सहयोग गरेको रावलले बताए ।

विपद्का बेला प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नुका साथै संस्थाले कार्यालयमा विपद् तथा मानवीय सहयोगका लागि दानपेटिका राख्ने निर्णयसमेत गरेको छ । बोर्ड र कर्मचारीबिच भएको बैठकको निर्णयअनुसार कर्मचारीबाट मासिक १ सय रुपैयाँका दरले सहयोग सङ्कलन गरिनेछ । यसबाट वार्षिक रूपमा करिब १ लाख २० हजार रुपैयाँ सङ्कलन हुने र उक्त रकम विपद् तथा अन्य मानवीय सहयोगका कार्यमा खर्च गरिने अध्यक्ष मन्दिप सिंहले जानकारी दिए ।

‘विपद्का बेला वा अन्य आपत्कालीन अवस्थामा तत्काल मानवीय सहयोग गर्न सकियोस् भनेर मासिक सहयोग सङ्कलनको योजना ल्याएका हौँ,’ अध्यक्ष सिंहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?