Butwal Today

रसुवाको बाढीमा बेपत्ता श्रमिकका परिवारलाई ५१ हजारको खाद्यान्न सहयोग

२४ भाद्र २०८३, बुधबार
अ+
अ-

रोल्पा ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका–६ पातिहाल्नका जनप्रतिनिधिले रसुवाको बाढीमा बेपत्ता भएका श्रमिकका परिवारलाई करिब ५१ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका छन् ।

वडा अध्यक्ष लोकेन्द्रबहादुर थापाको नेतृत्वमा वडा कार्यपालिका सदस्य अनिता थापा, दलबहादुर थापा, सौमती परियारलगायतको टोलीले पीडित परिवारको घरमै पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो ।

गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीमा सुनिलस्मृति गाउँपालिकाका विभिन्न वडाका ११ जना सम्पर्कविहीन भएका छन् । तीमध्ये वडा नम्बर ६ पातिहाल्नका राजेन्द्र महत, सन्जु महत, कुमार महरा, बसन्त महरा र रबिलाल भण्डारी रहेका छन् ।

त्यस्तै, वडा नम्बर ५ का हरिबहादुर घर्ती र आर्यन घर्ती, काभ्रा टोलका सोमबहादुर घर्ती र अनाराम पुन तथा वडा नम्बर ३ मिझिङका जक्तबहादुर पुनसमेत बाढीपछि परिवारको सम्पर्कमा आएका छैनन् ।

बाढीमा बेपत्ता अधिकांश श्रमिक रोजगारीका लागि रसुवा पुगेका थिए । लामो समयसम्म उनीहरूको अवस्था थाहा हुन नसक्दा परिवारमा चिन्ता बढेको छ ।

वडा अध्यक्ष थापाले विपत्तिको समयमा पीडित परिवारलाई स्थानीय तहका तर्फबाट सक्दो सहयोग गर्नु जनप्रतिनिधिको दायित्व भएको बताए । “यो विपत्तिको घडीमा हामी जनप्रतिनिधिको कर्तव्य हो। यी परिवार हाम्रा परिवार हुन्, हाम्रा जनता हुन्,” उनले भने ।

थापा स्वास्थ्य समस्याका कारण उपचारपछि आराम गरिरहेका भए पनि वडाका पाँच जना युवा रसुवाको बाढीमा बेपत्ता भएको खबरपछि पीडित परिवारलाई भेट्न पुगेका हुन् । पित्तथैलीमा पत्थरी भएपछि शल्यक्रिया गरिएको र चिकित्सकले आराम गर्न सुझाव दिएको उनले बताए ।

उनले बेपत्ता श्रमिकको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गर्दै पीडित परिवारलाई आवश्यक सहयोगका लागि वडा कार्यालय निरन्तर तयार रहेको बताए ।

खाद्यान्न सहयोगले पीडित परिवारको तत्कालको आवश्यकता केही हदसम्म पूरा भए पनि बेपत्ता श्रमिकको खोजी गरी उनीहरूको अवस्थाबारे यथाशीघ्र जानकारी दिनुपर्ने परिवारको मुख्य माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?