© 2026
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगर क्षेत्रमा बलि निषेध गरिएका दिन पशुपक्षी काटमार नगर्ने तथा मासु पसल पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ । नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठको उपस्थितिमा मासु व्यवसायी संग भएको छलफल तथा अन्तरक्रियामा सुपा देउराली मन्दिरमा बलि निषेध गरिएका दिनलाई आधार बनाएर नगर क्षेत्रका मासु व्यवसायीले समेत सोही दिन काटमार तथा मासु बिक्री–वितरण नगर्ने निर्णय गरिएको नगरपालिकाका सहायक प्रशासकीय अधिकृत धर्मराज भुसालले बताएका छन् ।
एकादशी, औसी, रामनवमी, बुद्धजयन्ती, कृष्ण जन्माष्टमी, महाशिवरात्रिलगायत सुपा देउराली मन्दिरमा बलि निषेध गरिएका दिनमा पशुपक्षी काटमार नगर्ने र मासु पसल पूर्ण रूपमा बन्द गर्ने सहमति भएको हो । छलफलमा नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले व्यवसाय सञ्चालन गर्दा प्रचलित कानुनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका छन्। उनले व्यवसायीका समस्या समाधान गर्न स्थानीय सरकार तयार भए पनि कानुन र निर्धारित मापदण्डलाई बेवास्ता गरेर व्यवसाय सञ्चालन गर्न नपाइने स्पष्ट पारेका छन् ।
मासु व्यवसाय खाद्यवस्तुसँग प्रत्यक्ष जोडिएको भएकाले व्यवसायीले पसल तथा बिक्रीस्थल सफा राख्नुपर्ने, मासु सुरक्षित रूपमा भण्डारण गर्नुपर्ने तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी बिक्री–वितरण गर्नुपर्नेमा जोड दिइएको छ। निर्धारित मापदण्ड पालना नगर्ने तथा आवश्यक प्रक्रिया पूरा नगर्ने व्यवसायीलाई क्रमशः कानुनी दायरामा ल्याउने र अटेर गरे नियमानुसार कारबाही गरिने निर्णय भएको पशु चिकित्सक नवीन पन्थीले बताए । मासु व्यवसायलाई व्यवस्थित बनाउने निर्णयले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई समेत प्राथमिकतामा राखेको छ।
यही आवश्यकतालाई सम्बोधन गर्न नगरपालिकाले व्यवसायीहरूसँग समन्वय गर्दै कानुनी प्रक्रिया पूरा गर्न सहजीकरण गरी नियमित अनुगमनलाई प्रभावकारी बनाउने तयारी गरेको छ। धार्मिक रूपमा संवेदनशील दिनमा काटमार बन्द, अन्य दिनमा पनि स्वच्छता र कानुनी मापदण्डको कडाइ—सन्धिखर्कमा गरिएको यो निर्णयले मासु व्यवसायलाई केवल व्यापारका रूपमा नभई नागरिकको स्वास्थ्य र सामाजिक जिम्मेवारीसँग जोडेर व्यवस्थित गर्ने प्रयास गरेको देखिन्छ। निर्णय प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेमा सन्धिखर्कमा स्वच्छ, सुरक्षित र कानुनी मापदण्डअनुसारको मासु व्यवसाय सञ्चालनका लागि नयाँ आधार तयार हुने अपेक्षा गरिएको छ।