© 2026
काठमाडौं । जेन–जी आन्दोलनको मर्म, स्मृति दिवसमा सहभागी पात्र र सरकारको कार्यशैलीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपभित्रै विवाद चर्किएको छ। गृहमन्त्री सुधन गुरुङ र रास्वपाकी सचेतक तथा सांसद क्रान्तिशिखा धितालबीच जेन–जी सांसदहरू सहभागी ह्वाट्सएप समूहमा चर्काचर्की भएको विवरण सार्वजनिक भएको हो।
विवाद नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा आयोजित जेन–जी स्मृति दिवस कार्यक्रमपछि सुरु भएको बताइएको छ। कार्यक्रममा विवादित पृष्ठभूमिका केही धार्मिक व्यक्तित्वलाई मञ्चमा राखिएको विषयमा धितालले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएकी थिइन्। धितालले स्मृति दिवसको मञ्च र सहभागी व्यक्तिहरूको औचित्यमाथि प्रश्न उठाउँदै सहिद परिवार तथा आन्दोलनका घाइतेको पीडालाई कार्यक्रमले कसरी सम्बोधन गर्यो भन्ने प्रश्न गरेकी थिइन्। जेन–जी आन्दोलनका मूल मुद्दा र पीडितको न्यायलाई केन्द्रमा राख्नुपर्ने उनको धारणा थियो।
त्यसै कार्यक्रममा गृहमन्त्री गुरुङले केही सञ्चारकर्मीलाई लक्षित गर्दै ‘सुध्रिन’ चेतावनी दिएको विषयमा पनि धितालले प्रश्न उठाएकी थिइन्। अभिव्यक्ति स्वतन्त्रता र राज्यसत्ताको जवाफदेहिताका लागि भएको आन्दोलनपछि सरकारमा पुगेकाहरूले आलोचकप्रति चेतावनीपूर्ण भाषा प्रयोग गर्नु विरोधाभासपूर्ण भएको उनको टिप्पणी थियो। यही विषयलाई लिएर जेन–जी सांसदहरू रहेको ह्वाट्सएप समूहमा गुरुङ र धितालबीच बहस सुरु भएको बताइएको छ।
समूहमा गुरुङले धिताललाई मेन्सन गर्दै, “क्रान्तिशिखा, थाहा नभएको कुरा किन बोलेकोरु” भन्दै प्रश्न गरेका थिए। उनले नयाँ बानेश्वरमा भएको कार्यक्रम सहिद तथा घाइते परिवारले आफ्नै ढंगले आयोजना गरेको दाबी गरेका थिए। बहस बढ्दै गएपछि गुरुङले आफूहरूले गरेको आन्दोलनको योगदानलाई बिर्सिएको आशयमा कडा टिप्पणी गरेका थिए। उनले उक्त विषय संसद्मा समेत उठाउने बताएका थिए। गुरुङले धितालमाथि जेन–जी आन्दोलनको मर्म नबुझेको आरोप लगाउँदै आन्दोलनमा सक्रिय रहेका अन्य सांसदसँग तुलना गरेका थिए। पार्टीभित्रको योगदान र सार्वजनिक अभिव्यक्तिबारे समेत उनले असन्तुष्टि जनाएका थिए।
त्यसपछि समूहमा रहेका केही सांसदले विवाद रोक्न आग्रह गरेका थिए। सांसद बब्लु गुप्ताले आपसमा झगडा नगर्न आग्रह गरेका थिए भने खिमा विश्वकर्माले पनि स्मृति कार्यक्रममा सहभागी व्यक्तिहरूको औचित्यमाथि प्रश्न उठाएकी थिइन्। तर धितालले गृहमन्त्री गुरुङलाई कडा जवाफ फर्काइन्। “गृहमन्त्रीज्यू, तपाईंको तमिज भएन,” भन्दै धितालले जेन–जी आन्दोलनको स्वामित्व कुनै एक व्यक्तिले लिन नसक्ने बताएकी थिइन्। उनले गुरुङलाई आफ्नो धारणा सच्याउन आग्रह गर्दै जेन–जी आन्दोलनलाई व्यक्तिगत स्वामित्वको विषय नबनाउन चेतावनी दिइन्।
“जेनजीको आन्दोलन तपाईं एक्लैको हो भन्ने भ्रमबाट निस्कनुहोस्,” भन्दै उनले जेन–जी आन्दोलनका नाममा विवादित व्यक्तिहरूलाई अगाडि राखेर सहिदका माग पूरा गर्न नसकिने टिप्पणी गरेकी थिइन्।धितालले त्यसपछि अंग्रेजी भाषामा “सी यू इन द पार्लियामेन्ट” भन्दै विषय संसद्मा उठ्ने संकेतसमेत गरेकी थिइन्।धितालको जवाफपछि गुरुङले पनि प्रतिक्रिया दिँदै, “तमिज सिकाउनु पर्दैन मलाई,” भनेका थिए। उनले फेरि धितालमाथि आन्दोलनमा सक्रिय सहभागिता नजनाएको आरोप लगाउँदै आफूहरूले आन्दोलनमा गरेको योगदानको स्मरण गराएका थिए। गुरुङले धितालसँग आफू सरकार निर्माणका क्रममा कहाँ थिइन् भन्ने आशयमा प्रश्न उठाउँदै आफूहरू आन्दोलन गरेर आएको र त्यसको महत्व आफूहरूलाई बढी थाहा हुने बताएका थिए।
विवाद रोक्न सांसदहरूको आग्रह
विवाद चर्किएपछि सांसद सुशान्त वैदिकले दुवै पक्षलाई संयमित हुन आग्रह गरेका थिए। उनले पार्टीभित्रै बसेर विवाद समाधान गर्नुपर्ने भन्दै, “केही कन्फ्युजन भए बसेर सुल्झाऔं,” भनेका थिए। वैदिकले सरकार बने पनि वास्तविक सत्ता संरचनामा विभिन्न संवैधानिक तथा संस्थागत चुनौती रहेको भन्दै त्यसका लागि साझा योजना आवश्यक रहेको बताएका थिए। पार्टीभित्रकै जेन–जी सांसदबीच विवाद बढे आन्दोलनका बाहिर रहेका पीडितलाई न्याय दिन कठिन हुने उनको भनाइ थियो।
“पार्टीभित्रकै जेनजी लड्यौं भने बाहिरलाई न्याय कसरी दिनेरु” उनले प्रश्न गरेका थिए। व्यक्तिगत सम्बन्धमा समस्या नभएको धितालको दाबी विवाद सार्वजनिक भएपछि गृहमन्त्रीले आफूलाई हप्काएको विषयमा प्रतिक्रिया दिँदै रास्वपा सचेतक धितालले भने गृहमन्त्री गुरुङसँग व्यक्तिगत रूपमा कुनै समस्या नरहेको बताएकी छन्। ह्वाट्सएप समूहमा भएका मेसेजबारे आफूलाई पूर्ण जानकारी नभएको दाबी गर्दै उनले गृहमन्त्रीसँग आफ्नो व्यक्तिगत सम्बन्धमा कुनै समस्या नरहेको बताइन्। “तपाईंले कुन मेसेज हेर्नुभयो, मलाई थाहा छैन। गृहमन्त्रीसँग मैले व्यक्तिगत कुरा गरेको छु। कुनै समस्या छैन,” उनले भनेकी छन्।
आन्दोलनको स्वामित्व कि साझा मर्म
जेन–जी आन्दोलनको एक वर्षपछि रास्वपाभित्रै सार्वजनिक रूपमा देखिएको यो मतभेदले आन्दोलनका मुद्दा, त्यसको राजनीतिक स्वामित्व र वर्तमान सरकारको कार्यशैलीबारे पार्टीभित्र बहस गहिरिँदै गएको संकेत गरेको छ।विशेषगरी स्मृति दिवसमा विवादित व्यक्तिहरूको उपस्थितिदेखि अभिव्यक्ति स्वतन्त्रता, आलोचनालाई स्वीकार गर्ने राजनीतिक संस्कार र आन्दोलनको मूल उद्देश्यसम्मका विषयमा प्रश्न उठेका छन्। यसले रास्वपाभित्र आत्मसमीक्षाको आवश्यकता समेत देखाएको छ। आन्दोलनबाट सत्ता परिवर्तनको अवस्थामा पुगेपछि सरकारमा सहभागी दल र नेताहरूले आन्दोलनका मूल भावना, सहिद तथा घाइतेका माग र जवाफदेहिताको प्रश्नलाई कति आत्मसात् गरेका छन् भन्ने बहस थप पेचिलो बनेको छ।
त्यसैले अहिलेको विवाद केवल गृहमन्त्री गुरुङ र सांसद धितालबीचको व्यक्तिगत भनाभनमा सीमित देखिँदैन। यसले जेन–जी आन्दोलन कसको साझा आन्दोलन हो, त्यसको मूल मर्म के थियो र आन्दोलनबाट सत्ता परिवर्तनपछि त्यसको भावनालाई सत्तामा पुगेकाहरूले कति आत्मसात् गरेका छन् भन्ने गम्भीर राजनीतिक प्रश्नसमेत उठाएको छ।