© 2026
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर कायम राख्ने बताएका छन् ।
जेनजी शहीदहरूको स्मृतिमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभापति लामिछानेले आफूलाई दिएको जिम्मेवारीप्रति इमानदार रहने बताएका हुन् ।
‘पार्टी सभापति रवि लामिछानेले विश्वास गरेर जेनजीको आशालाई मर्न दिन हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देखाइदेऊ– सुशासन के हुन्छ भनेर । जुन विश्वास गर्नुभएको छ, त्यो विश्वासलाई निरन्तर जगाइराख्न चाहन्छु,’ गृहमन्त्री गुरुङले भने ।
उनले आफू मन्त्री मात्र नभई दाइ, भाइ र छोरा पनि रहेको उल्लेख गर्दै आफूलाई जिम्मेवारीबाट हटाउने अवस्था सिर्जना हुन अर्को गोली चल्नुपर्ने दाबी गरे । देशमा फेरि गोली चलाउने हिम्मत कसैले गर्न नसक्ने उनको जिकिर थियो ।
‘तपाईँहरूको यो मन्त्री, दाइ, भाइ, छोरा एउटै कुराले ढल्छ । त्यो भनेको अर्को गोली चल्नुपर्छ । अर्को गोली चल्नका लागि यो देशमा कसैले हिम्मत गर्न सक्दैन । म तपाईँहरूलाई विश्वास गराउन चाहन्छु,’ उनले भने ।