Butwal Today

सिग्नेचर पुलको ठेक्का चिनियाँ कम्पनीलाई ३ वर्षमा निर्माण सक्ने लक्ष्य, एक अर्ब ७० करोडमा ठेक्का सम्झौता

२१ भाद्र २०८३, आइतबार
अ+
अ-

बुटवल । बुटवल प्रवेश गर्ने जोकोहीले तिनाउ नदी पार गर्नुपर्छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने यही तिनाउ पुल अहिले बढ्दो सवारी चापका कारण साँघुरिँदै गएको छ ।

चार दशकभन्दा लामो समयदेखि बुटवलको आवागमन धान्दै आएको पुरानो पुलको विकल्प अब नयाँ स्वरूपमा आउने भएको छ ।

तिनाउ नदीमाथि बहुप्रतीक्षित सिग्नेचर पुल निर्माणका लागि ठेक्का सम्झौता भएसँगै आयोजनाले मूर्त रूप लिएको हो । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाले चिनियाँ निर्माण कम्पनी एम.एस. आनहुई सिनजियान होल्डिङ ग्रुप कम्पनी लिमिटेडसँग पुलको डिजाइन, निर्माण र पहुँच मार्गसहितको कामका लागि औपचारिक सम्झौता गरेको छ ।

महाशाखाका अनुसार भ्याट र पिएससहित एक अर्ब ७० करोड ५४ लाख २९ हजार ५९२ रुपियाँमा ठेक्का सम्झौता भएको हो । महाशाखा प्रमुख तथा परियोजना निर्देशक उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालका अनुसार गत बिहीबार निर्माण कम्पनीसँग सम्झौता भएको हो ।

सम्झौताअनुसार निर्माण कम्पनीले अबको तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ । निर्माण सम्पन्न भएपछि पाँच वर्षसम्म पुलको मर्मतसम्भारको जिम्मेवारी पनि निर्माण कम्पनीकै हुनेछ । आयोजना ‘डिजाइन एन्ड बिल्ड’ मोडलमा अघि बढाइनेछ ।

नयाँ पुल निर्माण हुँदा अहिले सञ्चालनमा रहेको तिनाउ पुल भत्काइने छैन । पुरानो पुललाई यथावत् राखेर त्यसको उत्तर र दक्षिणतर्फ नयाँ पुल निर्माण गरिनेछ । यसले निर्माण अवधिमा समेत राजमार्गको सवारी आवागमनलाई निरन्तरता दिन सहज हुने अपेक्षा गरिएको छ ।

सडक विभागका अनुसार पुरानो पुलको दुवैतर्फ दुई–दुई लेनका नयाँ पुल निर्माण हुनेछन् । त्यससँगै पैदलयात्रुका लागि मार्ग र कम्तीमा ९८० मिटर पहुँच मार्गसमेत निर्माण गरिनेछ ।

नयाँ बन्ने पुलको लम्बाइ करिब २३० देखि २४० मिटरसम्म हुनेछ । सडक विभागले तयार पारेको अध्ययन तथा नमुना डिजाइनलाई आधार बनाएर निर्माण कम्पनीले पुलको विस्तृत डिजाइनसहित निर्माण कार्य अघि बढाउनेछ ।

वि.सं. २०३८ मा निर्माण भएको हालको तिनाउ पुलले लामो समयदेखि बुटवलको पूर्व–पश्चिम आवागमन धान्दै आएको छ । पुल निर्माण हुँदाको समयमा रहेको सवारी चाप र अहिलेको अवस्थाबिच ठूलो अन्तर आइसकेको छ । सवारी साधनको संख्या बढ्दै जाँदा साँघुरो पुलमा आवागमन प्रभावित हुने गरेको छ ।

नयाँ सिग्नेचर पुल निर्माण भएपछि बुटवल हुँदै पूर्व–पश्चिम राजमार्गमा हुने आवागमन थप सहज र सुरक्षित हुने सडक विभागको विश्वास छ । तिनाउ पुल केवल सवारी आवागमनका लागि निर्माण हुने संरचना मात्र नभई बुटवलको पहिचानसँग जोडिने अपेक्षा गरिएको छ । ‘सिग्नेचर पुल’का रूपमा निर्माण हुने भएकाले यसको डिजाइन आकर्षक र कलात्मक बनाउने लक्ष्य राखिएको छ ।

बुटवलको मुख्य प्रवेशद्वारमै पर्ने भएकाले नयाँ पुलले सहरको दृश्य पहिचानसमेत परिवर्तन गर्ने अपेक्षा गरिएको छ । पुल निर्माणपछि तिनाउ नदीमाथिको नयाँ संरचना बुटवल आउने पर्यटक तथा यात्रुका लागि आकर्षणको केन्द्र बन्न सक्नेछ ।
बुटवल पछिल्लो समय तीव्र सहरीकरणसँगै व्यापारिक तथा यातायात केन्द्रका रूपमा विस्तार भइरहेको छ ।

पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण खण्डमा पर्ने भएकाले यहाँबाट दैनिक ठूलो सङ्ख्यामा सवारी साधन आवतजावत गर्छन् । यस्तो अवस्थामा आधुनिक र फराकिलो पुल निर्माणलाई यातायात पूर्वाधार विस्तारसँगै सहरको सौन्दर्य र पहिचानसँग जोडेर हेरिएको छ ।

तिनाउ सिग्नेचर पुल निर्माणका लागि गत मंसिरको अन्तिम साता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो । बोलपत्र प्रक्रियामा छ वटा चिनियाँ कम्पनी सहभागी भएका थिए । तीमध्ये दुई कम्पनीले नेपाली व्यवसायीसँग संयुक्त उपक्रम (जेभी) बनाएर प्रस्ताव पेस गरेका थिए ।

प्राविधिक तथा आर्थिक प्रस्तावको छुट्टाछुट्टै मूल्याङ्कन गरी प्राप्ताङ्कका आधारमा आनहुई सिनजियान होल्डिङ ग्रुप कम्पनी लिमिटेड छनोट भएको हो ।

सडक विभागले पुल निर्माणका लागि करिब दुई अर्ब रुपियाँ लागत अनुमान गरेको थियो । प्रतिस्पर्धात्मक प्रक्रियाबाट अनुमानभन्दा कम लागतमा ठेक्का सम्झौता भएको हो ।

सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नारायणी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरु गर्ने घोषणा गरेको थियो । सोही कार्यक्रमअनुसार नारायणी नदीमा पुल निर्माणको काम सुरु भइसकेको छ भने तिनाउमा पनि ठेक्का सम्झौतापछि निर्माणको बाटो खुलेको हो ।

तिनाउ सिग्नेचर पुल विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण भइरहेको बुटवल–चन्द्रौटा ६९ किलोमिटर सडक आयोजनाको एउटा महत्वपूर्ण संरचना हो । उक्त सडक आयोजना पश्चिम नेपालमा पूर्व–पश्चिम राजमार्गको क्षमता विस्तार र यातायात व्यवस्थापन सुधारसँग जोडिएको छ ।

आयोजनाअन्तर्गत बुटवलदेखि गोरुसिङ्गेसम्मको ५० किलोमिटर सडक खण्ड चिनियाँ कम्पनी शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र आशिष निर्माण सेवा जेभीले निर्माण गरिरहेका छन् ।

सडक फराकिलो बनाउने कामसँगै त्यसमा पर्ने महत्वपूर्ण नदी तथा खोलामा आधुनिक पुल निर्माण आवश्यक हुन्छ । तिनाउमा निर्माण हुने सिग्नेचर पुल यही पूर्वाधार सुधारको महत्वपूर्ण कडीका रूपमा रहनेछ ।

लामो समयदेखि साँघुरो पुलबाट आवागमन गर्दै आएका यात्रुका लागि नयाँ पुल निर्माण भएपछि यात्रा सहज हुने अपेक्षा छ । निर्माण पूरा भएपछि पुरानो पुललाई समेत उपयोगमा राखेर नयाँ संरचनाबाट थप लेन सञ्चालन गरिने भएकाले बुटवलको मुख्य प्रवेशबिन्दुमा हुने सवारी चाप व्यवस्थापनमा सहयोग पुग्ने विश्वास सडक विभागको छ ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको तिनाउ सिग्नेचर पुलले यातायात पूर्वाधारमा मात्र होइन, बुटवलको दृश्य पहिचानमा समेत नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ ।

पुरानो पुलले चार दशकभन्दा बढी समय बुटवलको आवागमन धानेपछि अब त्यही तिनाउमाथि आधुनिक संरचनाले सहरको भविष्यको यातायात आवश्यकतालाई सम्बोधन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?