Butwal Today

एसीसी पुरुष प्रिमियर कपः नेपाललाई १ सय ९१ रनको लक्ष्य

२१ भाद्र २०८३, आइतबार
अ+
अ-

बर्दघाट । मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कपअन्तर्गत साउदी अरेबियाले नेपाललाई १ सय ९१ रनको लक्ष्य दिएको छ ।

नेपालविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको साउदी अरेबियाले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९० रन बनाउन सफल भयो ।

साउदी अरेबियालाई ठूलो स्कोर बनाउनबाट रोक्न सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले १० ओभरमा २ मेडन राख्दै १९ रन खर्चेर ३ विकेट लिए । यस्तै, ललित राजवंशीले १० ओभरमा ३ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए ।

दीपेन्द्रसिंह ऐरीले केही महँगो बलिङ गरे पनि ३ विकेट लिए । उनले ९ दशमलव २ ओभरमा ४३ रन खर्चेर साउदी अरेबियाका ३ ब्याटरलाई पभेलियन फर्काए । शेर मल्ल र गुलशन झाले समान १–१ विकेट लिए ।

साउदी अरेबियाका लागि ओपनर अब्दुल वाहिदले उत्कृष्ट ब्याटिङ गर्दै ७७ रनको पारी खेले । उनले १० चौका र २ छक्का प्रहार गरे । यस्तै, मोहम्मद अब्दुल्लाह आतिफले ३० तथा मोहम्मद हिसाम शेखले २८ रन बनाए । अन्य ब्याटरको प्रदर्शन भने उल्लेखनीय रहन सकेन ।

दोस्रो ओभरमै पहिलो विकेट गुमाएको साउदी अरेबियाले दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गरेको थियो । त्यसपछि भने नेपाली बलरले लगातार विकेट लिँदै साउदी अरेबियालाई ठूलो स्कोर बनाउनबाट रोके ।

अंक तालिकामा नेपाल २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । साउदी अरेबिया भने ३ खेलबाट १ जित र २ हारसहित २ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?