Butwal Today

नेपाली कम्युनिष्ट पार्टीद्वारा भोटेकोशी–त्रिशूली बाढीबारे २४ बुँदे विशेष प्रस्ताव पारित

२१ भाद्र २०८३, आइतबार
अ+
अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको प्रलयकारी बाढीबाट भएको जनधनको क्षति, प्रभावित क्षेत्रको स्थलगत अनुगमनका क्रममा देखिएका समस्या तथा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका चुनौतीबारे गम्भीर छलफल गर्दै २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ।

पार्टीका संयोजक कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज २०८३ भाद्र २१ गते केन्द्रीय कार्यालयमा बसेको बैठकले बाढी प्रभावित क्षेत्रको तत्कालीन तथा दीर्घकालीन समाधानका लागि विभिन्न विषयलाई प्रस्तावमा समेटेको हो। बैठकले बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, राहत वितरण, अस्थायी आवास निर्माण, पुनर्स्थापना, अत्यावश्यक सेवा तथा पूर्वाधारको पुनःसञ्चालन र पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिएको छ।

त्यसैगरी बैठकले व्यावसायिक राहत व्यवस्थापन, सुरक्षित आवास योजना, जोखिम मूल्याङ्कन, राष्ट्रिय जलवायु तथा विपद् कोष स्थापना, पूर्वसूचना प्रणालीको विकास, द्रुत प्रतिकार्य टोली गठन तथा विपद् व्यवस्थापनका लागि प्रभावकारी राष्ट्रिय संयन्त्र निर्माण गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। बैठकले जलवायु परिवर्तनका कारण नेपालमा बढ्दै गएको विपद्को जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय जलवायु न्यायको मुद्दालाई प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिएको छ। जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर नेपालले गम्भीर रूपमा भोगिरहेको भन्दै प्रभावित समुदायको संरक्षण, क्षतिपूर्ति तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन पहल गर्नुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ।

पार्टीले विपद्को समयमा राजनीतिक, सामाजिक तथा नागरिक तहमा राष्ट्रिय एकता कायम गर्दै प्रभावित नागरिकको जीवनरक्षा, पुनर्स्थापना र सुरक्षित भविष्य निर्माणका लागि राज्यका सबै निकाय तथा राजनीतिक शक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेको छ। बैठकले बाढी प्रभावित क्षेत्रको तत्कालीन राहतदेखि दीर्घकालीन पुनर्निर्माणसम्मका कार्यलाई समन्वित, पारदर्शी र वैज्ञानिक ढंगले सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?