© 2026
चन्द्रौटा । वर्षौँदेखि घर, आँगन थियो । पुस्तौँदेखि त्यही जमिनमा खेतीपाती हुँदै आएको थियो । तर हातमा आफ्नो जमिनको कानुनी प्रमाण भने थिएन । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका गाउँ ब्लक क्षेत्रमा बसोबास गर्ने अधिकांश परिवारको अवस्था यस्तै थियो । यतिबेला भने कानुनी प्रमाण पाउँदा त्यहाँका सयौँ नागरिकहरु आइतबार खुसी देखिएका छन् । उनीहरुको खुसीको राज भने–लालपूर्जा हो ।
गाउँ ब्लक जग्गाधनीले जग्गाधनी दर्ता प्रमाणपूर्जा लालपुर्जा पाएका छन् । नगरपालिका र नापी कार्यालय, तौलिहवा कपिलवस्तुको संयुक्त आयोजनामा २ वटा वडाका गरी ७ सय ३० जना जग्गाधनीले लालपुर्जा पाएका हुन् । जसमा वडा नम्बर ७ का ३३८ जना र वडा नम्बर ८ का ३९२ जनाले जग्गाधनी लालपुर्जा पाएको नगरपालिकाले जनाएको छ ।
बुद्धभूमि नगरपालिकाका गाउँ ब्लक क्षेत्रमा बसोबास गर्ने धेरै परिवारको अवस्था यस्तै थियो । आफ्नै भनेर पुस्तौँदेखि भोगचलन गर्दै आएको जमिन भए पनि लालपुर्जा नहुँदा उनीहरूलाई जग्गाको पूर्ण स्वामित्वको अनुभूति हुन नसकेको स्थानीयले कुरा सुनाए । जग्गा कारोबारदेखि बैंकिङ प्रयोजन र विभिन्न कानुनी प्रक्रियामा समेत समस्या झेल्नुपथ्र्यो । बैकिङ कारोबार गर्न देखि स्वामित्व बहन गर्न अब भने सहज हुने वडा नम्बर ८ का वडा अध्यक्ष कपिलदेव तिवारीले बताए ।
नगर प्रमुख केशवकुमार श्रेष्ठ, नापी कार्यालय तौलिहवाका नापी प्रमुख जनक भण्डारी पूर्व जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद खनाल, वडा नं। ७ का अध्यक्ष शालिकराम यादव लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । नापी कार्यालयले वितरण गरिएको प्रमाणपूर्जामा कुनै त्रुटि भएमा ६० दिनभित्र नापी कार्यालय, तौलिहवा, कपिलवस्तुमा सम्पर्क गरी आवश्यक सच्याउन सम्बन्धित जग्गाधनीलाई आग्रह गरेको छ । यसअघि नगरपालिका वडा नं. ५, ६ र १० लालपुर्जा वितरण भइसकेको छ । हालसम्म २ हजार ४१६ घरपरिवारले जग्गाधनी दर्ता प्रमाणपूर्जा प्राप्त गरेका छन् ।