© 2026
विराटनगर ।
कोशीका प्रदेशप्रमुख परशुराम खापुङले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले मुलुकलाई स्तब्ध बनाएको बताएका छन् । अखिल नेपाल वैश्य९हलवाई० सेवा समिति केन्द्रीय कार्यालय मोरङद्वारा आज यहाँ आयोजित श्रीश्री १००८ संतशिरोमणि बाबा गणिनाथ गोविन्दको जन्मजयन्ती कार्यक्रममा बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिकलाई सबैले मिलेर सहयोग गर्नुपर्ने धारणा राखे ।
प्रदेश प्रमुख खापुङले शान्ति, समृद्धि, विकास र समाजलाई जोड्न आजको दिनले सफलता मिलोस् शुभकामना दिँदै बाढीपीडितको खोज, उद्धार, राहत तथा पुनःस्थापनामा तीनै तहका सरकार, सरोकार भएका निकायबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए । उनले पीडितका लागि आवश्यक सहयोगका लागि पनि सबैमा आग्रह गरे ।
आयोजक समितिका अध्यक्ष कृष्णकुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रममा समितिका वरिष्ठ सल्लाहकारद्वय प्रह्लाद साह र दिनेश साहले आ-आफ्नो धारणा राखेका थिए ।