© 2026
काठमाडौँ ।
श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा रथयात्रा एवं शोभायात्रा निकालिँदै छ । पापका पक्षमा लाग्नेको संहार गरी सज्जनको रक्षा गर्न भगवान् श्रीकृष्णले जन्म लिएको भन्ने जनविश्वाससहित भाद्र कृष्ण नवमीका दिन देशभरका कृष्ण मन्दिरमा रथयात्रा एवं शोभायात्रा निकाल्ने परम्परा सुरु गरिएको हो ।
यस अवसरमा उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) को कार्यालय परिसरबाट आज विशेष रथयात्रा निकाल्ने कार्यक्रम छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाले पनि आज श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने तयारी गरेका छन् । यसैगरी गोकर्णेश्वर-८ स्थित बेँशीगाउँमा रहेको श्रीकृष्ण मन्दिर क्षेत्रबाट पनि आज रथयात्रा निकालिने कार्यक्रम रहेको वडाध्यक्ष नन्दलाल श्रेष्ठले जानकारी दिए । रथयात्रामा हजारौँ मानिस सहभागी हुन्छन् ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका भगवान् श्रीकृष्णले पुतना, कङ्श, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । धर्म स्थापनाका लागि युग युगमा जन्म लिन्छु भनी कुरुक्षेत्रमा अर्जुनलाई सत्यको पक्षमा लाग्नेको रक्षा असत्यका पक्षमा लाग्नेको संहार गर्न अवतार लिने गरेको प्रसङ्ग पनि विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।