© 2026
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको धार्मिक विश्वास छ । यही विश्वासका आधारमा आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिन्छ ।
जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको विशेष पूजा, प्रवचन तथा भजन–कीर्तन भइरहेका छन् । यस दिन महिला तथा पुरुष भक्तजनले व्रत बस्ने र रातभर जाग्राम बसेर भगवान् श्रीकृष्णको भक्ति गर्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव जातिलाई जोगाउन भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको धार्मिक मान्यता छ । श्रीकृष्णले आफ्नो जीवनभर सत्यको पक्षमा रहन तथा सत्कर्म गर्न मानव समुदायलाई प्रेरणा दिएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
कुरुक्षेत्रमा कौरवसँगको युद्धका क्रममा पाण्डवपुत्र अर्जुनलाई श्रीकृष्णले दिएको उपदेश नै पवित्र ग्रन्थ ‘श्रीमद्भगवद्गीता’का रूपमा प्रसिद्ध छ । विश्वका धेरै भाषामा अनुवाद भएको यस ग्रन्थले कर्म, कर्तव्य र धर्मको महत्त्वलाई विशेष रूपमा उजागर गरेको छ ।
बाल्यकालदेखि नै विभिन्न लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।
जन्माष्टमीका अवसरमा ललितपुरको पाटन मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गर्छ । त्यस्तै, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधामलगायत देशभरका साना–ठूला श्रीकृष्ण मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको छ ।
धार्मिक सङ्घसंस्थाहरूले श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने तयारीसमेत गरेका छन् । जन्माष्टमी पर्वकै अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ ।