© 2026
गुल्मी । गुल्मीमा पहिलो पटक बेमौसमी सुन्तला बजारमा आएको छ । सामान्यतया कात्तिकपछि मात्रै बजारमा पुग्ने सुन्तला यस वर्ष भदौमै बिक्री हुन थालेपछि धुर्कोटका कृषक उत्साहित भएका छन् ।
धुर्कोट गाउँपालिका–२ पिपलधाराका कृषक कृष्ण जीसी र घनबहादुर खड्काको बगैँचामा उत्पादित कलमी जातको सुन्तला यस वर्ष पहिलो पटक भदौमै बजारमा आएको हो । बोटमै सुन्तलाका दाना केही पहेँलो हुन थालेपछि टिपेर बुटवल लगायत स्थानीय बजारमा बिक्रीका लागि पठाउन थालिएको कृषक जीसीले बताएका छन् । उनका अनुसार आज मात्रै करिब पाँच क्विन्टल सुन्तला बुटवल पठाइएको छ ।
स्थानीय बजारमा अहिले सुन्तला प्रतिकिलो एक सय ७० रुपैयाँसम्ममा बिक्री भइरहेको जीसीले बताए । बेमौसममै बजारमा आएको, विषादीरहित तथा अर्ग्यानिक उत्पादन भएकाले सुन्तलाको माग राम्रो रहेको उनको भनाइ छ ।
जिसीका अनुसार सुन्तलाका दाना ठुला र स्वादिलो रहेको बताइएको छ । ‘यो कलमी जातको सुन्तला हो । गुल्मीमा पहिलो पटक यसरी सिजन अघि नै बजारमा आएको छ । दाना ठुला छन् र खानका लागि पनि स्वादिलो छ,’ उनले भने ।
धुर्कोट गाउँपालिकाले स्थानीय कृषि उत्पादनको बजारीकरणमा सहयोग पु¥याउँदै आएको छ । गाउँपालिकाले पालिका भित्र उत्पादन हुने कृषि उपज तथा अन्य कृषि वस्तु बजारसम्म पु¥याउन निःशुल्क ढुवानीको व्यवस्था गरेको छ ।
यसबाट कृषकको ढुवानी खर्च घट्नुका साथै उत्पादनको उचित मूल्य पाउने वातावरण बनेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताएका छन् । सुन्तला उत्पादनलाई व्यावसायिक बनाउन गाउँपालिकाले चक्लाबन्दी तथा सिँचाइ पूर्वाधार निर्माणमा समेत सहयोग गर्दै आएको छ । कृषकलाई आवश्यक बिरुवा, प्राविधिक सेवा तथा उत्पादन विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पोखरेलले बताए ।
‘कृषि उत्पादनको बजारीकरणमा कृषकलाई सहज होस् भनेर गाउँपालिकाले ढुवानी निःशुल्क गरेको छ । सुन्तला उत्पादन विस्तारका लागि चक्लाबन्दी र सिँचाइ पूर्वाधारमा समेत सहयोग गर्दै आएका छौँ,’ अध्यक्ष पोखरेलले भने । उनका अनुसार धुर्कोटमा भदौमै सुन्तला बजारमा आएको यो पहिलो पटक हो ।
धुर्कोट गाउँपालिका गुल्मीमा व्यावसायिक सुन्तला उत्पादनका लागि प्रमुख क्षेत्र मानिन्छ । पिपलधारा, वस्तु, नयाँ गाउँ लगायत क्षेत्रमा एक सय भन्दा बढी कृषकहरूले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आइरहेका छन् ।
पछिल्लो समयमा धुर्कोटमा विजु विरुवासँगै नयाँ कलमी जातका बिरुवाको उत्पादन, मल तथा सिँचाइ सुविधाका कारण सुन्तला खेतीको क्षेत्रफल र उत्पादनमा बृद्धिहुँदै गएको गाउँपालिकाले जनाएको छ ।
यस वर्ष नयाँ प्रजातिका तथा तीन वर्ष अघि रोपिएका बिरुवाले उत्पादन दिन थालेपछि सुन्तला केही चाँडै बजारमा पठाउन थालिएको कृषक घन बहादुर खड्काले बताए ।
स्थानीय उपभोक्ता बाशुदेव पोखरेलले बाहिरबाट हेर्दा हरियो देखिए पनि उक्त सुन्तला खाँदा आफुले रसिलो र स्वादिलो लागेको बताए । बेमौसममै सुन्तला बजारमा आएपछि त्यस क्षेत्रका कृषकहरूले राम्रो मूल्य पाउने अपेक्षा गरेका छन् ।