Butwal Today

सञ्चारमन्त्रीद्वारा शिक्षण अस्पतालमा उपचाररत बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी

१९ भाद्र २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ । नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद एवं सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीमा परी उद्धार गरिएकामध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सञ्चार मन्त्री तिमिल्सिना आज दिउँसो शिक्षण अस्पताल पुगेर बाढीबाट उद्धार गरिएका घाइते तथा प्रभावित व्यक्तिहरूको स्वास्थ्य अवस्था, उपचारका लागि गरिएको प्रबन्ध तथा अस्पतालको समग्र व्यवस्थापनबारे अस्पतालका अधिकारीहरूसँग जानकारी लिएका हुन् ।

उनले उपचाररत व्यक्तिहरूसँग प्रत्यक्ष भेट गरी स्वास्थ्य अवस्था, उपचारका क्रममा कुनै समस्या भए–नभएको तथा अस्पतालबाट प्राप्त भइरहेको स्वास्थ्य सेवाबारे समेत जानकारी लिए ।

अस्पतालका अनुसार भोटेकोशी बाढीबाट उद्धार गरी उपचारका लागि ल्याइएका ७८ जनामध्ये २९ जना हाल उपचाररत छन् । उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएका अन्य व्यक्तिलाई अस्पतालले डिस्चार्ज गरिसकेको जनाएको छ ।

अस्पतालका अधिकारीहरूले बाढीपीडितको उपचारमा हालसम्म कुनै समस्या नरहेको र उपचाररत व्यक्तिले सहज रूपमा स्वास्थ्य सेवा पाइरहेको जानकारी मन्त्री तिमिल्सिनालाई गराएका छन् ।

सञ्चार मन्त्री तिमिल्सिनाले विपद्को समयमा घाइते तथा प्रभावित नागरिकको उपचार र आवश्यक स्वास्थ्य सेवामा कुनै कमी हुन नदिन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र व्यवस्थापन गर्न आग्रह गरे ।

उपचारका क्रममा कुनै समस्या देखिएमा वा थप स्वास्थ्य सेवा, उपचार सामग्री तथा अन्य व्यवस्थापन आवश्यक परेमा सरकारले आवश्यक सहयोग उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि बाढीमा परी घाइते तथा उद्धार गरिएका व्यक्तिलाई काठमाडौँ ल्याई विभिन्न स्वास्थ्य संस्थामा उपचार गराइएको छ । उद्धार गरिएका व्यक्तिहरूको स्वास्थ्य अवस्था, उपचारको निरन्तरता तथा आवश्यक व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?