Butwal Today

त्रिशूली–३ ‘ए’ मा सुरुङको मुख खोल्दै माटो सोहोर्ने काम जारी

१८ भाद्र २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ (केबल डक्ट टनेल) को मुख खोलेर माटो सोहोर्ने काम भइरहेको छ ।

नेपाली सेनाका अनुसार आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढीले पुरिएपछि त्यहाँ मानिसहरू फसेको आशङ्कामा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोली र अन्य प्राविधिकसहित ९३ जनाको टोली खोजी तथा उद्धारमा जुटिरहेको छ । उद्धार टोलीले पाँच वटा एक्स्काभेटर, कम्प्रेसर र ब्रेकरलगायतका उपकरण प्रयोग गरिरहेको छ ।

सुरुङको मुखमा ४० मिटर लामो र २० मिटर अग्लो डेब्रिसको थुप्रो रहेको छ । बाढीले बगाएर ल्याएका फलामसहितका संरचना तथा ठुलठुला ढुङ्गाहरूले सुरुङको मुख पुरिएको सेनाले जनाएको छ । दिनरात निरन्तर प्रयासपछि ती सामग्री पन्छाएर सुरुङको माथिल्लो भागतर्फ करिब १० फिट लम्बाइ र चार फिट उचाइको मुख खोलिएको नेपाली सेनाले जनाएको छ ।

आयोजना स्थलमा रहेका सांसद श्रीराम न्यौपानेका अनुसार सेनाले सुरुङभित्र प्रवेश गरेर माटो सोहोर्ने र पानी बाहिर बगाउने काम गरिरहेको छ । एक्स्काभेटर तथा अन्य मेसिनसहित सुरुङभित्र प्रवेश गर्नका लागि पूरै मुख खुलाउनुपर्ने भएकाले बाँकी डेब्रिस हटाउने काम पनि जारी रहेको उनले बताए ।

थप सात वटा बोल्डर (ठूला ढुङ्गा) ब्लास्टिङ गर्न तयारी भइरहेको छ । करिब १७० मिटर लामो उक्त सुरुङ माटो तथा लेदोले भरिएको छ । सुरुङभित्रको माटो र लेदो हटाएर सुरुङ छिचोलेपछि मात्रै पावरहाउस लगायतका अन्य संरचनामा पुग्न सकिने नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?