© 2026
बुटवल । नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले हालैको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
सङ्घले बुधबार जारी गरेको विज्ञप्तिमार्फत चीनको सिजाङ (तिब्बत) तर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, पूर्वी नवलपरासी लगायतका जिल्लामा ठुलो मानवीय तथा भौतिक क्षति भएको भन्दै सहयोग गर्ने निर्णय गरेको जनाएको हो ।
संघका अध्यक्ष विकास दुगडले अन्य सदस्यहरूसँग अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् ।
सङ्घले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । साथै प्रभावित क्षेत्रको पुनः स्थापना तथा पूर्वाधार निर्माणमा विशेष सतर्कता अपनाउनुपर्नेमा सङ्घले जोड दिएको छ ।
सङ्घले सम्बन्धित निकायहरूको सक्रिय पहल, समयोचित निर्णय र आवश्यक सहयोगबाट पीडित परिवारलाई ठुलो राहत पुग्ने विश्वास व्यक्त गरेको छ ।
विज्ञप्तिमा सङ्घले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगात्मक कार्यमा निरन्तर संलग्न रहने प्रतिबद्धता जनाएको छ । सरकारलगायत सम्बन्धित सबै पक्षको संवेदनशीलता र सहकार्यबाट प्रभावित क्षेत्रको पुनः स्थापना तथा पूर्वाधार निर्माणले गति लिने सङ्घको विश्वास छ ।
