© 2026
दाङ । शान्तिनगर गाउँपालिका–३ भलानेटीका ११ दलित तथा सुकुम्बासी परिवारका घर तथा गोठ डोजर लगाएर भत्काइएको छ । एक्कासि डोजर ल्याएर घर तथा गोठ भत्काइएपछि आफूहरू घरबारविहीन भएको पीडितहरूले बताएका छन् ।
भलानेटीका पूर्ण परियारले करिब १२ लाख रुपैयाँ लगानी गरेर चार कोठे घर निर्माण गरेका थिए । २०६० सालदेखि उक्त स्थानमा बसोबास गर्दै आएका परियारले २०७३ सालमा घर निर्माण गरेको बताए । चार सदस्यीय उनको परिवार अहिले घरबारविहीन बनेको छ ।
घर भत्काउनुअघि आफूलाई कुनै जानकारी नदिइएको परियारको गुनासो छ । स्थानीय तहले ऐलानी जमिनमा बसोबास गर्न अनुमति दिएका कारण आफूहरू त्यहाँ बस्दै आएको उनले बताए ।
‘घर भत्काउनुअघि कसैले पनि जानकारी दिएनन् । स्थानीय तहले नै ऐलानी जमिनमा बस्न अनुमति दिएको थियो । त्यही आधारमा घर बनाएर बसेका थियौँ,’ उनले भने ।
सोही स्थानका जोगबहादुर घर्तीमगरको गाईवस्तु बाँध्ने टहरा पनि डोजर लगाएर भत्काइएको छ । उनका अनुसार बेसार, अदुवा र पिँडालु खेतीसमेत डोजर लगाएर नष्ट गरिएको छ । २०६४ सालदेखि भोगचलन गर्दै आएको जमिनमा लगाइएको खेती नष्ट गरिएको उनको भनाइ छ ।
भलानेटीमा करिब ८२ दलित तथा सुकुम्बासी परिवार ऐलानी जमिनमा बसोबास गर्दै आएका छन् । तर, तीमध्ये ११ परिवारको मात्रै घर, गोठ तथा जमिनमा डोजर चलाइएको भन्दै पीडितहरूले आपत्ति जनाएका छन् ।
पीडितहरूले आफूहरूमाथि विभेदपूर्ण व्यवहार भएको आरोप लगाउँदै कि सबैलाई उक्त स्थानबाट हटाउनुपर्ने, नभए आफूहरूलाई पनि सुरक्षित रूपमा बस्ने वातावरण बनाउनुपर्ने माग गरेका छन् ।
सोही स्थानका नरबहादुर कामीको गोठसमेत भत्काइएको छ । आफू ज्याला मजदुरी गर्न गएको समयमा एक्कासि डोजर ल्याएर गोठ भत्काइएको उनले बताए ।
घटनाबारे पीडितहरूले डिभिजन वन कार्यालय दाङ, जिल्ला प्रशासन कार्यालय दाङलगायत सम्बन्धित निकायमा लिखित निवेदनसमेत दिएका छन् । निवेदनमार्फत दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने, घटनाको स्थलगत अनुगमन गरी मुचुल्का उठाउनुपर्ने, भएको क्षतिको तत्काल मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने तथा पीडित परिवारको तत्काल उचित व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ ।
पीडितहरूले आफूहरूको घर तथा गोठ भत्काइएको घटनामा न्याय दिलाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । यसैबीच, शान्तिनगरमा दलित तथा सुकुम्बासी परिवारमाथि भएको भनिएको अन्यायका विषयमा विभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाउँदै पीडितको पक्षमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।