© 2026
बुटवल । भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि न्यू होराइजन इङ्गलिश बोर्डिङ सेकेन्डरी स्कुल, बुटवल परिवारले नौ लाख १८ हजार ६६० रुपियाँ सहयोग गरेको छ ।
विद्यालयले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । विपद्का कारण ठुलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई तत्काल राहत तथा पुनः स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवारले रकम सङ्कलन गरी सहयोग गरेको जनाएको छ ।
विद्यालयका अनुसार कुल सहयोग रकममध्ये विद्यालयको तर्फबाट पाँच लाख ५५ हजार ५५५ रुपियाँ प्रदान गरिएको छ । त्यसै गरी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट दुई लाख ५२ हजार रुपियाँ सङ्कलन भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद कसजूले व्यक्तिगत रूपमा एक लाख ११ हजार १०५ रुपियाँ सहयोग गरेका छन् ।
यसरी विद्यालय, शिक्षक–कर्मचारी तथा व्यवस्थापन समितिका अध्यक्षको संयुक्त पहलमा सङ्कलित नौ लाख १८ हजार ६६० रुपियाँ मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्राचार्य वासुदेव अर्यालले विपद्को समयमा प्रभावित नागरिकको पीडामा साथ दिनु हरेक नागरिक तथा संस्थाको सामाजिक दायित्व भएको बताए । विद्यालयले आफ्नो नियमित शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको उनको भनाइ छ ।
“विपद्को समयमा नागरिकको दुःखमा साथ दिनु हाम्रो सामाजिक दायित्व हो,” उनले भने, “भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत र पुनः स्थापनामा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवारबाट रकम सङ्कलन गरी सहयोग गरेका हौँ ।”
विद्यालयले बाढी पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । साथै विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि सरकार तथा सम्बन्धित निकायलाई आवश्यक सहयोग र सहकार्य गर्न विद्यालयले आग्रह गरेको छ ।
भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठुलो जनधनको क्षति भएको छ । बाढी तथा पहिरोमा परी धेरै नागरिकको ज्यान गएको, केही बेपत्ता भएको तथा जलविद्युत् आयोजना, सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । विपद्पछि देशभरबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग जुटिरहेको छ ।
२०४६ सालमा स्थापना भएको न्यू होराइजन इङ्गलिश बोर्डिङ सेकेन्डरी स्कुल बुटवलको पुरानो तथा स्थापित शैक्षिक संस्थामध्ये एक हो । विद्यालयले शैक्षिक गतिविधिसँगै विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यक्रममा समेत सहभागिता जनाउँदै आएको जनाएको छ ।