© 2026
बाणगंगा । रसुवा जिल्लाको भोटेकोशी नदी तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित पीडितहरूको राहत तथा उद्धारका लागि कपिलवस्तु उद्योग वाणिज्य सङ्घले २ लाख ५१ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
गत भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो जनधनको क्षति भएपछि सङ्घले विपद्ममा परेका नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रदान गरेको हो।
सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घको विपद् राहत कोषमा रकम जम्मा गरेको जनाएको छ । महासङ्घसँगको समझदारी अनुसार महासङ्घमा आबद्ध शाखाहरूले संयुक्त रूपमा राहत रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था रहेकाले सोहीअनुसार सहयोग गरिएको सङ्घले जनाएको छ। कपिलवस्तु उद्योग वाणिज्य सङ्घको विपद् व्यवस्थापन कोष, कार्यसमिति, केन्द्रीय सदस्य, पूर्व अध्यक्ष, सल्लाहकार, लेखा समिति, कर्मचारी तथा उद्योगी–व्यवसायीबाट सङ्कलित रकमबाट सहयोग गरिएको सङ्घका अध्यक्ष गणेशबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
सङ्घले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता व्यक्तिहरूको खोजी तीव्र पार्न, घाइतेको प्रभावकारी उपचार तथा पीडितको राहत र पुनर्स्थापनालाई तीव्रता दिन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।
विपद्को समयमा पीडित नागरिकलाई साथ दिनु सामाजिक उत्तरदायित्व हो, भन्ने भावनासहित सङ्घले सहयोग गरेको जनाएको छ ।
