Butwal Today

अनधिकृत चन्दा सङ्कलन नगर्न आग्रह

१६ भाद्र २०८३, मंगलवार
अ+
अ-

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीद्वारा बाढी प्रभावितका नाममा अनाधिकृतरूपमा चन्दा सङ्कलन नगर्न अपिल गरेको छ । प्रशासनले राहत उपलब्ध गराउने नाममा अनाधिकृत रूपमा नगद तथा जिन्सी सङ्कलन नगर्न समेत आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्वारा जारी गरिएको सूचनामा जिन्सी सहायता सामग्री पठाउन चाहनेहरूले सम्बन्धित जिल्लामा पुर्याउने प्रबन्ध सहित जिल्ला प्रशासनसँग आवश्यक समन्वय गर्न निर्देशन गरिएको छ ।

साथै सहयोग गर्न इच्छुक व्यक्ति वा संस्थाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषको आधिकारिक बैंक खातामा रकम जम्मा गर्न सकिने जनाएको छ ।

प्रशासनद्वारा गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीका कारण मुलुकले ठूलो धनजनको क्षति व्यहोर्नु परेको र देश नै शोकमा रहेको जनाउँदै सर्वसाधारण एवं सरोकारवाला निकायमा पाँच बुँदे निर्देशन समेत गरिएको छ । सामाजिक सञ्जालमा तथ्यहीन सूचना, विभत्स फोटो तथा भिडियो पोस्ट र सेयर नगर्न, पीडित परिवारलाई हतोत्साहित बनाउने तथा भ्रम फैलाउने कार्य नगर्न प्रशासनको निर्देशन छ ।

राजधानी प्रवेश गर्ने मुख्य पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द रहेको र वैकल्पिक मार्गहरूको यात्रा पनि कठिन रहेकाले अत्यावश्यक काम बाहेक काठमाडौँको यात्रा नगर्न पनि आग्रह गरिएको छ । प्रशासनले मनसुन सक्रिय रहेकाले जिल्लाका विभिन्न सडक तथा बस्तीहरू समेत जोखिममा पर्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यसका अतिरिक्त नजिकिँदै आएको हरितालिका तीज पर्वलाई मध्यनजर गर्दै उक्त पर्वलाई भड्किलो र तडकभडक नगरी सामान्य तरिकाले मनाउन सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?