© 2026
कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्व नगर उपप्रमुख वासुदेव प्रसाद कसौधनको परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख २१ हजार रुपैयाँ सहयोग गरेको छ ।
सहयोग हस्तान्तरणमा पूर्व उपप्रमुख कसौधन सँगै छोरा सन्तोष कुमार कसौधन र नाती अमरदिप कसौधनले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई बैङ्क दाखिलाको भौचर बुझाएका थिए ।
पूर्व उपप्रमुख कसौधनका छोरा सन्तोष तौलिहवा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष तथा नाती अमरदिप युवा समाजसेवीको रूपमा परिचित छन् । भोटेकोसी नदीमा आएको बाढीबाट क्षति पुगेकाहरू र उनका परिवारलाई दुःखमा सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिएको पूर्व नगर उपप्रमुख वासुदेव प्रसाद कसौधनले बताए ।
प्रभावितको व्यवस्थापन, उद्धार र राहत कार्यका लागि सहयोग पुगोस् भनेर आफ्नो परिवारको तर्फबाट सो रकम सहयोग स्वरूप दिइएको युवा समाजसेवी अमरदिप कसौधनले जानकारी दिए । पछिल्लो समय जिल्लाबाट स्थानीय तह, व्यवसायी प्रतिष्ठान, सामाजिक सङ्घ संस्था मात्रै नभई व्यक्तिगत रूपमा पनि कोषमा राहत उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिइएको छ ।