© 2026
अर्घाखाँची । कला, संस्कृति तथा धार्मिक परम्पराको संरक्षण र प्रवद्र्धनकालागि अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ शान्ति बगैँचामा रहेको श्री १०८ गणेश पाञ्चायन मन्दिरलाई विभिन्न वाद्यवादनका सामग्री हस्तान्तरण गरिएको छ ।
लुम्बिनी प्रदेश सरकार, वन, वातावरण तथा पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विकास परिषद् लुम्बिनीले मन्दिर व्यवस्थापन समितिलाई वाद्यवादनका सामग्री हस्तान्तरण गरेको हो । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठको उपस्थितिमा परिषद्का प्रशासकीय अधिकृत माधव शर्माले मन्दिर व्यवस्थापन समितिका पदाधिकारीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।
परिषद्ले मन्दिरका धार्मिक तथा सांस्कृतिक गतिविधिमा प्रयोग हुने गरी एक थान हार्मोनियम, एक थान दमाहा, तीन थान मादल, एक थान मृदुङ्ग, दुई थान खैजडी, तीन थान मजुरा र तीन थान झ्यालीलगायतका सामग्री उपलब्ध गराएको परिषद्का प्रशासकीय अधिकृत माधव शर्माले जानकारी दिए ।
धार्मिक तथा सांस्कृतिक गतिविधिमा वाद्यवादनको महत्त्वपूर्ण भूमिका रहने भएकाले उपलब्ध गराइएका सामग्रीले मन्दिरमा हुने पूजा, भजन कीर्तन, धार्मिक अनुष्ठान तथा सांस्कृतिक कार्यक्रमलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए । स्थानीय कला, संस्कृति र मौलिक परम्पराको संरक्षणसँगै नयाँ पुस्तालाई समेत आफ्नो सांस्कृतिक सम्पदासँग जोड्न यस्ता सामग्री उपयोगी हुने विश्वास छ ।
सन्धिखर्कको शान्ति बगैँचामा अवस्थित श्री १०८ गणेश पाञ्चायन मन्दिर धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको छ । मन्दिरमा नियमित रूपमा धार्मिक गतिविधि सञ्चालन हुँदै आएका छन् । कार्यक्रममा सन्धिखर्क नगरपालिका–१ का वडा अध्यक्ष माधव श्रेष्ठ, मन्दिर व्यवस्थापन समितिका सचिव हरिप्रसाद दमासे, कोषाध्यक्ष लक्ष्मण पराजुलीलगायतको उपस्थिति रहेको थियो ।
स्थानीय तह, प्रदेश सरकार तथा सम्बन्धित निकायबाट धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि हुने सहयोगले स्थानीय पर्यटन विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।