© 2026
चन्द्रौटा । बाढीले कयौँको घरबार र दैनिकी तहसनहस बनेका छन् । विपद्मा परेका नागरिकलाई राहतका रूपमा खाद्यान्न, लत्ताकपडा र औषधि पुगिरहेका छन् । तर उनीहरूलाई त्यतिले मात्र पुग्दै बाढीपीडितका खाली खुट्टामा जुत्ता–चप्पलसमेत आवश्यक हुन्छ ।
त्यसैलाई मध्यनजर गर्दै लुम्बिनी प्रदेशका फुटवेयर उद्योगीले फरक किसिमको सहयोग अघि सारेका छन् । उनीहरूले बाढीपीडितका लागि करिब ३० लाख रुपैयाँ बराबरका १५ हजार जोडी जुत्ता–चप्पल उपलब्ध गराउने निर्णय गरेका छन् ।
फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपाल, लुम्बिनी प्रदेश शाखाले भदौ १० गतेको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नागरिकलाई लक्षित गर्दै राहत सङ्कलन गर्ने निर्णय गरेको हो । अध्यक्ष यज्ञप्रसाद भुर्तेलको अध्यक्षतामा बुटवलमा बसेको कार्यसमिति बैठकले प्रदेशका विभिन्न फुटवेयर उद्योगबाट जुत्ता–चप्पल सङ्कलन गरी प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको छ ।
राहत अभियानमा एभरेस्ट फुटवेयरले ४ हजार, ग्यालेक्सी नेपाल फुटकेयरले २ हजार, ग्लोबल फुटवेयरले १ हजार ५ सय, आस्था फुटवेयरले २ हजार १ सय र फस्र्ट स्टेप इण्डष्ट्रिजले १ हजार ५ सय जोडी सहयोग गर्ने भएका छन् ।
त्यस्तै युनिभर्सल सुजले १ हजार १ सय, सिटी वाक फुटवेयर्सले १ हजार १ सय, मुन स्टार फुटवेयरले १ हजार र शिव प्लास्टिकले ५ सय जोडी जुत्ता–चप्पल उपलब्ध गराउने एसोसिएसनका सचिव जनक प्रसाद बेल्वासेले जनाए ।
बाढीपछि विस्थापित परिवारका लागि दैनिक आवश्यकताका सामग्रीको अभाव भइरहेका बेला खुट्टामा लगाउने जुत्ता–चप्पलसमेत राहतको महत्त्वपूर्ण हिस्सा रहेको अध्यक्ष यज्ञप्रसाद भुर्तेल बताए । वर्तमान परिस्थितिलाई नियाल्दै विपद्मा परेकाहरुको आवश्यकतालाई ध्यानमा राख्दै उद्योगीहरूले आफ्नो उत्पादन नै राहतका रूपमा उपलब्ध गराउन लागेका उनको भनाइ छ ।