© 2026
प्यूठान । जिल्ला न्याय क्षेत्र समन्वय समिति, प्यूठानको बैठकले न्यायिक तथा अर्धन्यायिक निकायबाट सम्पादन हुने कामलाई प्रभावकारी बनाउन सेवा प्रदायक संस्थाका कर्मचारी तथा सेवाग्राही शारीरिक रूपमा स्वस्थ रहन आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
सोही निष्कर्षअनुसार प्यूठान जिल्ला अदालतबाट नौलो अभ्यासका रूपमा आधारभूत स्वास्थ्य जाँच सेवाको सुरुवात गरिएको अदालतका श्रेस्तेदार (उपसचिव) राजेन्द्रकुमार शर्माले जानकारी दिए ।
अदालतका कर्मचारी, कानुन व्यवसायी तथा सेवाग्राही स्वस्थ रहेमा अदालतका नियमित काम–कारबाहीसमेत छिटोछरितो र प्रभावकारी रूपमा सञ्चालन गर्न सहज हुने भएकाले स्वास्थ्य जाँच सेवाको अवधारणा अघि बढाइएको शर्माले बताए ।
सोही उद्देश्यले प्यूठान जिल्ला अदालतले जिल्ला आयुर्वेद कार्यालय, प्यूठानसँग समन्वय गरी अब प्रत्येक महिनाको १ गते र १५ गते निःशुल्क आधारभूत स्वास्थ्य जाँच तथा स्वास्थ्यसम्बन्धी परामर्श दिने व्यवस्था सुरु गरेको छ ।
यसैक्रममा भदौ १५ गते अदालत परिसरमा सञ्चालन गरिएको स्वास्थ्य जाँच कार्यक्रममा अदालतका कर्मचारी, कानुन व्यवसायी तथा सेवाग्राही गरी १३ जना महिला र २५ जना पुरुषसहित ३८ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
स्वास्थ्य जाँचका क्रममा ८ जना पुरुषमा उच्च रक्तचापको समस्या देखिएको थियो । कानुन व्यवसायी, कर्मचारी तथा सेवाग्राहीको उच्च रक्तचाप र अक्सिजनको स्तर जाँच गर्नुका साथै अन्य स्वास्थ्य समस्याका विषयमा आवश्यक परामर्शसमेत दिइएको जिल्ला आयुर्वेद कार्यालय, प्यूठानका निमित्त कार्यालय प्रमुख टुकबहादुर रोका र डा आर्जु रावतले जानकारी दिए ।
प्यूठान जिल्ला अदालतका कर्मचारी, कानुन व्यवसायी तथा सेवाग्राहीमा विगतमा देखिएका स्वास्थ्यसम्बन्धी समस्याका कारण विभिन्न प्रतिकूल घटना घटेकाले आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन यो सेवा प्रभावकारी हुने श्रेस्तेदार शर्माले बताए ।
अदालतका कर्मचारी तथा सेवाग्राहीलाई न्यूनतम रूपमा भए पनि नियमित स्वास्थ्य जाँच गराउने र आफ्नो हक–अधिकारका लागि मुद्दा–मामिलामा मात्र नभई आफ्नो स्वास्थ्यप्रति पनि सजग तथा सचेत रहनुपर्ने सन्देश प्रवाह गर्ने उद्देश्यले सुरु गरिएको यो अभ्यासको सर्वत्र प्रशंसा भएको छ ।
न्यायिक सेवा प्रवाहसँगै कर्मचारी, कानुन व्यवसायी र सेवाग्राहीको स्वास्थ्यलाई समेत प्राथमिकतामा राखेर सुरु गरिएको यो पहलले अदालतको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।