© 2026
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीका कारण बेपत्ता भएकाहरूको यकिन तथ्यांक अझै प्राप्त हुन नसकेको जनाएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले विपद्का कारण बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न अझै कठिन भइरहेको बताइन् । उनका अनुसार स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय निकुञ्ज तथा हाइड्रोपावर आयोजनालगायत सम्बन्धित निकायबाट विवरण संकलन गर्ने काम भइरहेको छ ।
उनका अनुसार सोमबार बिहान ९ बजेसम्म आधिकारिक निकायबाट प्राप्त विवरणअनुसार ४ हजार २०२ जना बेपत्ता छन् । उद्धार तथा खोजी कार्य जारी रहेकाले यो संख्या अझै घटबढ हुन सक्ने महतले बताइन् ।
‘हामीलाई अहिले मिसिङको संख्या कति हो भनेर एक्ज्याक्ट पत्ता लगाउन अलिकति अप्ठ्यारो नै छ । हामीले त्यहाँको स्थानीय पालिका, सीडीओ कार्यालयदेखि लिएर विभिन्न आधिकारिक निकाय नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय निकुञ्ज र हाइड्रोबाट संख्या लिने गरेका छौँ । त्यसमा हामीले करिब भन्ने गरेका छौँ, किनभने मिसिङको संख्या अझै हामीलाई एक्ज्याक्ट थाहा छैन,’ उनले भनिन् ।
यसैबीच, विभिन्न हाइड्रोपावर आयोजना तथा सुरुङबाट उद्धार कार्य जारी रहेको छ । महतका अनुसार हाइड्रोको सुरुङबाट मात्रै २८९ जनाको उद्धार गरिएको छ । आइतबार चिनियाँ १५ जना र भारतीय ७ जना गरी थप २२ जनालाई हाइड्रो क्षेत्रमा उद्धार गरिएको थियो । सोमबार पनि उद्धार कार्य जारी रहेको उनले बताइन् ।
लाङटाङ हाइड्रोमा भएको क्षतिसम्बन्धी छुट्टै विवरण भने अहिलेसम्म प्राप्त नभएको महतले जानकारी दिइन् ।
‘व्यक्तिहरूको खोजी भइराखेको छ । केही अझै थप हुनुहोला र कति मिसिङ भएको छ, त्यो मिसिङमध्ये यति नै एक्ज्याक्ट मिसिङ हो भनेर हामीलाई अलिकति भन्न गाह्रो नै छ । हामीले भएसम्म अपडेट गर्ने कोसिस गरिराखेका छौँ,’ उनले भनिन् ।
हालसम्म रसुवा बाढीमा परी ज्यान गुमाएका ९०३ जनाको शव फेला परेको छ । १० हजारभन्दा बढीको उद्धार गरिएको छ भने २६७ जना घाइते उपचारपछि घर फर्किएका छन् । सम्पर्कविहीनहरूको खोजीका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।
विपद्का कारण अवरुद्ध सडक तथा सञ्चार सेवा पनि अधिकांश क्षेत्रमा सुचारु भएको प्राधिकरणले जनाएको छ । प्रवक्ता महतले वैकल्पिक मार्ग पहिचान गरी सडक आवागमन सहज बनाइएको जानकारी दिइन् ।
विपद् व्यवस्थापनका लागि प्राधिकरणले करिब १४ वटा छुट्टाछुट्टै कार्यदल गठन गरी परिचालन गरेको छ । उद्धार, राहत, हेलिकोप्टर व्यवस्थापन, शव व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहायता र समन्वयलगायतका कामका लागि छुट्टाछुट्टै कार्यदल गठन गरेर बिहीबारदेखि नै काम अघि बढाइएको महतले जानकारी दिइन् ।