© 2026
पश्चिम, नवलपरासी । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बगेर नवलपरासीस्थित नारायणी नदी आसपासका क्षेत्रमा आइपुगेका मानव शव तथा अङ्गहरूको व्यवस्थापन कार्य सुरु गरिएको छ ।
नदी तटीय क्षेत्रमा फेला परेका शवहरूलाई कानुनी तथा स्वास्थ्यसम्बन्धी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न थालिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार भेटिएका शव तथा मानव अङ्गहरू सुनवल नगरपालिका–४ स्थित मूलपानी सामुदायिक वन क्षेत्रलाई शव व्यवस्थापन स्थलका रूपमा चयन गरी गाड्ने काम सुरु गरिएको छ ।
नारायणी नदी किनारका विभिन्न स्थानमा फेला परेका शवहरूलाई सर्वप्रथम सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा ल्याउने गरिएको छ । केही शव रुपन्देहीस्थित भीम अस्पताललगायत अन्य अस्पतालमा समेत पठाइएको छ ।
अस्पतालमा शवको पहिचान, तथ्याङ्क सङ्कलन तथा पोस्टमार्टम ९शव परीक्षण० सम्पन्न गरेपछि मात्रै अन्तिम व्यवस्थापनका लागि पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।
पहिचान खुल्न नसकेका शवहरूको डीएनए परीक्षण गरी व्यवस्थापनका लागि पठाउने गरिएको पृथ्वीचन्द्र जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। ब्रिज यादवले जानकारी दिए । उनका अनुसार समाचार तयार पार्दासम्म जिल्ला अस्पतालमा ल्याइएका १९ वटा मानव अङ्ग र एउटा शव गरी २० जनाको डीएनए परीक्षण गरी व्यवस्थापनका लागि पठाइएको छ ।
नारायणी नदी किनारमा अझै थप शव वा मानव अङ्ग भेटिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै तटीय क्षेत्रमा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । तीन वटै सुरक्षा निकायका नेपाली सेनाका १०४, सशस्त्र प्रहरी बलका ८५ र नेपाल प्रहरीका ८० गरी कुल २६९ जना सुरक्षाकर्मी खोज, उद्धार तथा शव सङ्कलनमा खटिएका छन् ।
हालसम्म भारततर्फ बगेका चार वटा शव तथा मानव अङ्गसहित कुल १५५ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिए । उनका अनुसार हालसम्म एक जनाको मात्रै सनाखत भएको छ ।
सुरक्षा निकायहरूले नदी किनारका जोखिमयुक्त तथा पहुँचयोग्य दुवै क्षेत्रमा पैदल र डुङ्गामार्फत निरन्तर गस्ती गरिरहेका छन् । फेला परेका शवलाई तत्काल अस्पताल पुर्याउने तथा स्वास्थ्य संस्था र स्थानीय तहसँगको समन्वयमा व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको प्रहरीले जनाएको छ ।
नदीमा आएको बाढीका कारण थप शव तथा मानव अङ्ग बगेर आउन सक्ने भएकाले खोजी तथा निगरानीलाई निरन्तरता दिइएको जनाइएको छ ।