Butwal Today

वन समूहलाई अपिल: खर्च होइन, विपद्मा सहयोग

१५ भाद्र २०८३, सोमबार
अ+
अ-

चन्द्रौटा । विपद्ले घरबार र परिवार गुमाएका नागरिक राहतको पर्खाइमा छन् । यस्तो संवेदनशील अवस्थामा डिभिजन वन कार्यालय कपिलवस्तुले अनावश्यक खर्च कटौती गरी विपद्मा परेका प्रभावितलाई सहयोग गर्न आग्रह गरेको छ ।

डिभिजन वनले सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूहलाई अनावश्यक कार्यक्रमको खर्च कटौती गरी राहत तथा उद्धारमा सहयोग गर्ने भएको हो ।

भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट ठुलो जनधनको क्षति भएपछि डिभिजन वन कार्यालय कपिलवस्तुले वन उपभोक्ता समूहलाई पत्र पठाएको छ । तीज दर खाने, चाडपर्वका शुभकामना आदानप्रदान, खेलकुद प्रतियोगिता, मेला–महोत्सवमा सहयोग, कार्यक्रम प्रायोजन, अध्ययन भ्रमण, स्वागत, बिदाइ तथा सम्मानलगायत कार्यक्रम सञ्चालन नगर्न आग्रह गरेका जनाइएको छ ।

त्यस्ता कार्यक्रमका लागि छुट्टाइएको रकम तत्काल खर्च नगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्न व्यवस्था मिलाउन कार्यालयले आग्रह गरेको छ । स्वीकृत वार्षिक कार्यक्रम तथा बजेटमा विपद् व्यवस्थापन, राहत तथा सामाजिक उत्तरदायित्वका लागि छुट्टाइएको रकमसमेत कानुनी व्यवस्था र समूहको निर्णय प्रक्रियाअनुसार विपद् प्रभावितको उद्धारमा उपयोग गर्ने कार्यालयले जनाएको छ ।

सिनियर डिभिजनल वन अधिकृत प्रभात यादव सापकोटाले हालको विपद्को संवेदनशील अवस्थालाई मध्यनजर गर्दै अनावश्यक तथा तत्काल स्थगित गर्न सकिने कार्यक्रमको खर्च कटौती गर्न आग्रह गरे । विपद् प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउन मातहतका वनलाई पत्राचार गरिएको समेत उनले बताए ।

सामाजिक उत्तरदायित्व, मानवीय सहयोग तथा विपद् प्रतिकार्यमा सामुदायिक वन क्षेत्रबाट समेत आवश्यक सहयोग पु¥याउने वातावरण निर्माण गर्न आग्रह गरिएको उनले जनाए । रकम जम्मा गर्दा सामुदायिक वन उपभोक्ता समूहको कोष खर्चसम्बन्धी प्रचलित कानुनी व्यवस्था, स्वीकृत कार्य योजना तथा साधारण सभाको अधिकार क्षेत्रको पालना गर्नुपर्ने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?