Butwal Today

भोटेकोशी बाढीः मध्यविन्दुका २ वडाका १२ जना बेपत्ता

१४ भाद्र २०८३, आइतबार
अ+
अ-

नवलपुर (नवलपरासी) । गत बुधबार भोटेकोशी नदीमा गएको बाढीका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाका दुई वटा वडाका १२ जना नागरिक बेपत्ता भएका छन् ।

मध्यविन्दु नगरपालिका वडा नम्बर १ र ५ मा घर भई रसुवागढीको टिमुरेमा निर्माणाधीन तेन्जिन शेर्पा हाइड्रोपावर विल्डिङ कन्स्ट्रक्सनमा कार्यरत १२ जना भदौ १० गतेदेखि बेपत्ता भएका नगरपालिकाले जनाएको छ ।

मध्यविन्दुका नगरप्रमुख भीमलाल अधिकारीका अनुसार बेपत्ता नगरवासीको खोजी कार्य भइरहेको भए पनि हालसम्म सम्पर्क हुन सकेको छैन । मध्यविन्दु–१ का तीन जना तथा मध्यविन्दु–५ का नौ जना नगरवासी हराइरहेका उनले जानकारी दिए ।

नगरपालिकाका अन्य नागरिक पनि हराइरहेका हुनसक्ने भन्दै पालिकाले नगरवासीका आफन्तसँग जानकारी माग गरेको नगरप्रमुख अधिकारीले बताए । अधिकारीका अनुसार मध्यविन्दु–१ का हेमबहादुर चौधरी, हुसनबहादुर थारु र कालीराम महतो थारु टिमुरेबाट बेपत्ता भएका छन् ।

मध्यविन्दु–५ का जीवन विक, गङ्गाराम मुखिया, विशाल मुखिया, सीताराम महतो, युद्ध महतो उमेश, एकदेव महतो विजय, नुमनारायण महतो, केवलप्रसाद महतो र तेजबहादुर थारु बेपत्ता भएका उनले बताए ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै बेपत्ता नागरिकको तस्बिरसहितको जानकारी साझा गरिएको भन्दै अधिकारीले हराएका व्यक्ति कहीँकतै कसैको सम्पर्कमा आएमा वा फेला परेमा मध्यविन्दु नगरपालिकाको सचिवालयको नं। ९८४७०७५९३२ र ९८५७०४५१९० मा सम्पर्क गर्न अनुरोध गरे ।

यसै क्षेत्रका सङ्घीय सांसद मनिष खनालले भोटेकोशीमा आएको बाढीका कारण मध्यविन्दु–५, बाघखोर र मध्यविन्दु–१ बाट कामको सिलसिलामा रसुवा पुगेका १२ जना नागरिक हालसम्म घट्टेखोला क्षेत्रबाट हराइरहेको भन्दै खोजी कार्य भइरहेको बताए ।

उनले मध्यविन्दु नगरप्रमुख, उपप्रमुख, पूर्वप्रमुख तथा स्थानीय जनप्रतिनिधिसँगै हराइरहेका नागरिकका परिवारजनसँग प्रत्यक्ष भेटघाट गरी हराएका नागरिकको पछिल्लो पटक सम्पर्क भएको विषयमा कुराकानी गरेको बताए ।

सांसद खनालले टिमुरेमाथि घट्टेखोला क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकाय, सुरक्षा निकाय र स्थानीय प्रशासनसँग पुनः विशेष पहल र समन्वय गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?