© 2026
चन्द्रौटा ।
विपत्ति कहिले आउँछ, कसैलाई थाहा हुँदैन । तर विपत्तिका बेला हुन सक्ने रगतको अभाव टार्न कपिलवस्तुको शिवराज नगरपालिकाका युवाहरूले अग्रसरता देखाएका छन् ।
विपत्तिका बेला आवश्यक पर्ने रगतको अभाव हुन नदिन खरेन्द्रपुरमा आयोजित रक्तदान कार्यक्रममा १४५ पिन्ट रगत संकलन भएको छ ।
नगर प्रमुख अजय थापाले एक पिन्ट रगतले कसैको जीवन बचाउन सक्ने भएकाले रक्तदानलाई महत्वपूर्ण मानवीय सेवाका रूपमा लिनुपर्ने बताए ।
कार्यक्रम संयोजक गोपाल बन्जाडेले उत्साहजनक सहभागिताका कारण लक्ष्यभन्दा बढी रगत संकलन गर्न सफल भएको बताए । क्लब अध्यक्ष सन्तोष पौडेलले विपत्तिको पूर्वतयारीसँगै युवाहरूलाई मानवीय सेवामा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
रोट्रयाक्ट क्लब अफ कपिलवस्तुको आयोजनामा भएको कार्यक्रममा रोटरी क्लब अफ कपिलवस्तु र शिवराज युथ क्लबले सहकार्य गरेका थिए ।
रक्त सञ्चार सेवा केन्द्र, बुटवलको प्राविधिक सहयोगमा आइतबार गौतम बुद्ध पोलिक्लिनिकमा रक्तदान कार्यक्रम आयोजना गरिएको क्लब अध्यक्ष पौडेलले जानकारी दिए । कार्यक्रममा स्थानीय व्यवसायी, सामाजिक अभियन्ता, जनप्रतिनिधि, प्रहरीलगायतले रक्तदान गरेका थिए ।
