© 2026
बुटवल ।
रसुवा लगायतका जिल्लामा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि यातायात मजदुर तथा व्यवसायी भलाई कोष, बुटवलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ ।
भलाई कोषले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा पठाएको जनाएको छ । विपद्का बेला प्रभावित नागरिकको उद्धार तथा राहतका लागि राज्यलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कोषले आफ्नोतर्फबाट सहयोग गरेको हो ।
यातायात मजदुर तथा व्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलले विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्वसमेत भएकाले कोषले आफ्नो क्षमताअनुसार सहयोग गरेको बताए ।
“विपद् कसैलाई भनेर आउँदैन । यस्तो अवस्थामा पीडितको उद्धार र राहतमा राज्यसँगै सबै क्षेत्रको सहयोग आवश्यक हुन्छ,” उनले भने, “हामीले सानो भए पनि आफ्नो तर्फबाट योगदान गरौँ भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेका हौँ ।”
उनले यातायात क्षेत्र आफैँ पनि विभिन्न प्राकृतिक विपद् तथा सङ्कटका समयमा प्रभावित हुने भए पनि मानवीय सेवाको भावनाले कोषले विगतदेखि नै सामाजिक काममा सहभागिता जनाउँदै आएको बताए ।
भलाई कोषले यसअघि कोरोना भाइरसको सङ्क्रमणका बेला पनि लुम्बिनी प्रदेश सरकारको कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेको थियो । महामारीका बेला यातायात क्षेत्रका मजदुर तथा व्यवसायी स्वयं समस्यामा रहे पनि सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश सरकारको कोषमा उक्त रकम सहयोग गरिएको अध्यक्ष फुल्लेलले बताए ।
“हामीले विगतमा पनि अप्ठ्यारो परिस्थितिमा राज्यलाई सहयोग गर्दै आएका छौँ । अहिले बाढी पहिरोबाट ठुलो क्षति भएको अवस्थामा पनि आफ्नो तर्फबाट सहयोग गर्नुपर्छ भन्ने महसुस भयो,” उनले भने, “आगामी दिनमा पनि आवश्यकताअनुसार यस्ता सामाजिक तथा मानवीय कार्यमा कोषको सहभागिता निरन्तर रहनेछ ।”
भलाई कोष यातायात मजदुर तथा व्यवसायीको हितसँगै सामाजिक क्षेत्रमा समेत विभिन्न गतिविधिमा सहभागी हुँदै आएको छ । विपद्का बेला राहत तथा उद्धारका लागि सरकारी कोषमा सहयोग गर्नुका साथै आवश्यकताअनुसार प्रभावित समुदायलाई प्रत्यक्ष सहयोग गर्ने कार्यमा समेत यातायात क्षेत्रका सङ्घसंस्था सहभागी हुँदै आएका छन् ।