© 2026
सल्यान ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका आफन्तको अवस्था बुझ्न सल्यानका परिवारहरू यति बेला विभिन्न अस्पताल पुगिरहेका छन् । बाढीमा बेपत्ता भएका आफ्ना नागरिकको खोजीका लागि स्थानीय सरकारहरूले समेत आफन्तलाई साथमा लिएर विभिन्न जिल्लाका अस्पताल तथा प्रभावित क्षेत्रमा टोली पठाएका छन् ।
कामको सिलसिलामा रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा पुगेका सल्यानका नागरिकहरू बाढीपछि सम्पर्कविहीन भएपछि उनीहरूको खोजी तथा पहिचानका लागि त्रिवेणी, कपुरकोट र कालिमाटी गाउँपालिकाले आफन्त सहितको टोली प्रभावित क्षेत्रतर्फ पठाएका हुन् । टोलीले रुपन्देही, नवलपरासी, नवलपुर र चितवनका अस्पतालमा राखिएका शव तथा उद्धार गरिएका व्यक्तिहरूबारे जानकारी लिइरहेको छ ।
त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतसहितको टोलीले शुक्रवार लुम्बिनी प्रादेशिक अस्पताल, पिपरा अस्पताल र मध्यबिन्दु अस्पताल पुगेर शव पहिचानको प्रयास गरेको थियो । तर ती अस्पतालमा राखिएका शवमध्ये त्रिवेणीका बेपत्ता नागरिक फेला नपरेको गाउँपालिकाले जनाएको छ । शनिवार पनि टोलीले अन्य अस्पताल तथा सम्बन्धित स्थानमा पुगेर खोजी र पहिचानको काम गरिरहेको छ ।
कपुरकोट गाउँपालिकाको टोली पनि सम्पर्कविहीन १५ जना नागरिकको खोजीका लागि रुपन्देही र नवलपुरका विभिन्न अस्पताल पुगिसकेको छ । टोलीले शनिवार अन्य अस्पताल तथा सम्भावित स्थानमा पुगेर बेपत्ता नागरिकको अवस्थाबारे जानकारी लिइरहेको गाउँपालिकाले जनाएको छ ।
कालिमाटी गाउँपालिकाले पनि सम्पर्कविहीन दुई जना नागरिकको खोजीका लागि मध्यबिन्दु जिल्ला अस्पताल नवलपुर पुगेर शव पहिचानको प्रयास गरेको थियो । तर अस्पतालमा रहेका शवमध्ये आफ्ना नागरिक कोही नभेटिएपछि खोजीलाई निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ ।
बनगाड कुपिण्डे नगरपालिकाले समेत सम्पर्कविहीन ११ जना नागरिकको खोजी तथा पहिचानका लागि टोली प्रभावित क्षेत्रमा पठाएको छ । स्थानीय तहहरूले बेपत्ता नागरिकको अवस्थाबारे जानकारी लिन सुरक्षा निकाय, जिल्ला प्रशासन र प्रभावित क्षेत्रका सम्बन्धित निकायसँग समन्वय गरिरहेका छन् ।
बाढीपछि सल्यानका विभिन्न स्थानीय तहका ठुलो सङ्ख्यामा नागरिक सम्पर्कविहीन भएपछि स्थानीय सरकारहरू राहत र उद्धारसँगै आफ्ना नागरिकको खोजीमा केन्द्रित भएका हुन् । आफन्तको अवस्था पत्ता लगाउन परिवारका सदस्यहरू समेत विभिन्न जिल्लाका अस्पताल र प्रभावित क्षेत्रमा पुगिरहेका छन् ।
बाढी आएको केही समयमै परिवारका सदस्यसँग सम्पर्क टुटेपछि बेपत्ता नागरिकका आफन्तहरू यति बेला चिन्ता र पिडाबिच आफ्ना मान्छेको खोजीमा भौँतारिन बाध्य छन् । अस्पतालमा राखिएका शवमध्ये आफ्नै आफन्त पो हुन् कि भन्ने त्रासका बिच उनीहरू पहिचानको पर्खाइमा छन् ।
सल्यानको कुमाख गाउँपालिका–३ गुरुदासेका सात जना नागरिक अझै सम्पर्कविहीन छन् । शारदा नगरपालिका–१३ सल्लेरीका पाँच जना, सिद्धकुमाख गाउँपालिकाका दुई जना र बागचौर नगरपालिकाका दुई जना नागरिकको अवस्था पनि हालसम्म अज्ञात रहेको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।
बेपत्ता परिवारका सदस्यहरूले आफ्ना आफन्तको अवस्थाबारे यथाशीघ्र जानकारी दिन सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन् ।