Butwal Today

रसुवा बाढीः चितवनमा पहिचान नखुलेका शव जमिनमुनि व्यवस्थापन गरिने

१३ भाद्र २०८३, शनिबार
अ+
अ-

काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि चितवनमा सङ्कलन गरिएका पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार सूचना जारी गर्दै बाढीपछि जिल्लामा हालसम्म सङ्कलन भएका २३३ शवमध्ये आठ वटा पहिचान भएको जनाएको छ । प्रशासनका अनुसार बाँकी शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका छन् ।

होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट सङ्कलन गरिएका केही शव तथा शवका अवशेष सडेर–गलेर पहिचान गर्न नसकिने अवस्थामा पुगेको प्रशासनले जनाएको छ ।

ती शव तत्काल व्यवस्थापन नगर्दा सङ्क्रमण तथा महामारी फैलिन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषण रहेको सूचनामा उल्लेख छ ।

यसैलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनको शनिबार बिहान बसेको बैठकले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३’ बमोजिम पहिचान हुन नसकेका तथा बेवारिसे शवलाई जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शव व्यवस्थापन गर्नुअघि सबै शवको डीएनए नमुना सङ्कलन गरी सङ्केत नम्बरका आधारमा अभिलेख राखिने प्रशासनले जनाएको छ । त्यसपछि भरतपुर महानगरपालिका–९, देवघाटस्थित खुला स्थानमा शनिबारदेखि नै शव व्यवस्थापन गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?