Butwal Today

बाढीपीडितका लागि आरके शर्माद्वारा २५ लाख सहयोग

१३ भाद्र २०८३, शनिबार
अ+
अ-

दोहा, कतार ।  गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्व अध्यक्ष तथा पिजन इन्जिनियरिङ ग्रुप कतारका सीईओ आरके शर्माले बाढीपीडितको राहत तथा पुनः स्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठुलो क्षति पुर्‍याएपछि शर्माको नेतृत्वमा रहेको पिजन इन्जिनियरिङ ग्रुपका तर्फबाट उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिएको हो ।

बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शर्माले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

विज्ञप्तिमार्फत शर्माले यो सहयोग रकम मात्र नभई सङ्कटका बेला मातृभूमिप्रतिको दायित्व र आत्मीय भावनाको अभिव्यक्ति भएको बताएका छन् ।

“हामी जहाँ भए पनि हाम्रो मन सधैँ मातृभूमिमै हुन्छ,” शर्माले भनेका छन् । उनले विपत्तिको समयमा तत्कालीन राहतसँगै प्रभावित परिवारको दीर्घकालीन पुनः स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका सुरक्षा निकाय, स्थानीय तह, सामाजिक अभियन्ता तथा छिमेकी मित्रराष्ट्रहरूप्रति शर्माले आभार व्यक्त गरेका छन् । साथै, विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीलाई आफ्नो सामर्थ्यअनुसार बाढीपीडितको सहयोगमा हातेमालो गर्न उनले अपिलसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?