Butwal Today

भोटेकोशीमा बाढीको जोखिम कायमै

१३ भाद्र २०८३, शनिबार
अ+
अ-

काठमाडौँ । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीको जोखिम रहेको जनाएको छ ।

भोटेकोशी र त्रिशूलीमा हाल जलसतह सामान्य रहे पनि माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल फुट्ने जोखिम रहेकाले नदी किनारमा आवतजावत नगर्न र पूर्व सूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका बाढीविद् विनोद पराजुलीले चीन सरकारबाट प्राप्त सूचना तथा भू–उपग्रह तस्बिरको प्रारम्भिक विश्लेषणअनुसार भदौ १० गते बाढी आएको स्थानमा नदी थुनिएर बनेको तालको आकार बढ्दै गएको र उक्त ताल फुट्ने जोखिम रहेको राससलाई जानकारी दिए ।

“नदी थुनिएर बनेको ताल बढ्दै गएको र फुट्ने जोखिम देखिएको छ । ताल फुटेमा फेरि पानीसँगै ढुङ्गा, माटो तथा गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने जोखिम छ,” उनले भने, “भोटेकोशीमा बाढी आएपछि हाल भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढीको खतरा बढेमा पूर्व सूचना जारी गर्नेछौँ ।”

महाशाखाले उक्त जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारमा खटिएका व्यक्तिलाई नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?