Butwal Today

चीनतर्फ थुनिएको ड्याम पुनः फुट्यो, भोटेकोसी र त्रिशूली किनारमा उच्च सतर्कता

१२ भाद्र २०८३, शुक्रबार
अ+
अ-

रसुवा । नेपाल–चीन सीमावर्ती क्षेत्र तिब्बततर्फ पहिरोका कारण थुनिएको कृत्रिम ताल (ड्याम) पुनः फुटेको जानकारी प्राप्त भएपछि नेपालतर्फ नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

चीनको जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा पहिरोका कारण बनेको ड्याम फुटेर पानीको ठुलो बहाव तलतिर बग्न थालेपछि नेपालतर्फको तल्लो तटीय क्षेत्रमा बाढीको गम्भीर जोखिम उत्पन्न भएको भन्दै नेपाल प्रहरीले सार्वजनिक सूचना जारी गरी सतर्क रहन आग्रह गरेको हो ।

प्रहरीले आपत्कालीन चेतावनी जारी गर्दै भोटेकोसी र त्रिशूली नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका सबैलाई तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेको छ ।

रसुवामा वस्तुस्थिति नियन्त्रण तथा समन्वयका लागि खटिएका एसएसपी दीपशमशेर जबराले ड्याम फुटेको जानकारी प्राप्त भएसँगै उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई काम रोक्दै तत्काल सुरक्षित स्थानतर्फ जान भनिएको बताए ।

बुधबारको भीषण पहिरोपछि बनेको उक्त ड्याममा पानीको सतह बढेर ओभरफ्लो भइरहेको अवस्थामा पुनः फुटेको हो । ड्याम फुटेपछि भोटेकोसी र त्रिशूली नदीमा आकस्मिक बाढी आउन सक्ने जोखिम बढेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?