© 2026
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले विपद्को विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन निर्देशन दिएको छ ।
मन्त्रालयले सार्वजनिक बिदाका दिनसमेत खोज, उद्धार तथा उपचार सेवाका लागि तयारी अवस्थामा रहन कर्मचारीलाई निर्देशन दिएको हो ।
मन्त्रालयको प्रशासन तथा व्यवस्थापन शाखाले शुक्रबार जारी गरेको निर्देशनमा रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्योपचार तथा राहतका काम भइरहेको जनाएको छ ।
मन्त्रालयले आफू मातहतका सबै कर्मचारीलाई विपद् व्यवस्थापनमा खटिन सक्ने गरी विशेष कारण तथा अत्यावश्यक कामबाहेक बिदा वा काज स्वीकृत नगर्न तथा नगराउन निर्देशन दिएको छ ।
त्यस्तै, खोज, उद्धार तथा उपचारसँग सम्बन्धित निकायका प्रमुख, फोकल पर्सन तथा जिम्मेवार पदाधिकारीलाई सार्वजनिक बिदाका दिनसमेत कार्यालयमा उपस्थित हुन भनिएको छ ।
अन्य कर्मचारीलाई पनि आवश्यक सेवा प्रवाहका लागि तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सार्वजनिक बिदाका दिनसमेत बाढी पहिरो प्रभावित घाइतेहरूको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको छ ।